उत्तमकाे घरमा पुग्याे प्रहरी, दियाे सान्त्वना राहत

दार्चुला । लेकम गाउँपालिका–३, गुमखोलीको घरमा आज बिहान अन्य दिनभन्दा फरक थियो। घरअगाडिको आँगनमा प्रहरी अधिकारीहरूको उपस्थितिले गाउँ नै गम्भीर बनेको थियो।

प्रहरी वर्दीमा सजिएका अधिकारीहरूले कर्तव्यपालनाको क्रममा ज्यान गुमाएका प्रहरी जवान उत्तमसिंह थापाको परिवारलाई सान्त्वना दिन पुगेकाे थियाे ।

गत भदौ २४ गते राजधानी काठमाण्डौंमा जेन-जीकाे आन्दोलनकै बीच आक्रमणमा परी ३५ वर्षीय थापाले जीवन गुमाए। उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए।

वीरगति प्राप्त गरेको खबर गाउँमा मात्र होइन, देशभर शोकको विषय बन्यो। तर सबैभन्दा ठूलो पीडा उनकी आमा, ६० वर्षीय निर्मला देवी थापाको काँधमा आएको छ।

“मेरा छोराले देशकै लागि प्राण दिए, तर ऊ त मेरो लागि संसार थियो,” निर्मलाले भनिन्,। गाउँका छिमेकी, आफन्त र प्रहरी टोलीको सामुन्ने बोल्दा उनका शब्दहरूले सबैलाई भावुक बनायो। यसअघि अर्का छाेराले समेत ज्यान गुमाएको पीडा उनीसँग छ ।

भाई महेशको पनि नौ महिनाअघि लालीमै भीरबाट लडेर मृत्यु भएपछि उनी आफ्नो परिवारको एक्लो साहारा थिए । नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थापाले झण्डै आठ वर्षअघि बुवा हरिसिंह गुमाएका थिए ।

प्रहरी नायब उपरीक्षक प्रकाश दाहालसहितको टोलीले स्व. थापाको घरमै पुगेर उनलाई श्रद्धाञ्जली दिएकाे छ । टोलीले मातहतका प्रहरी कर्मचारीबाट संकलित तत्कालीन राहतस्वरूप एक लाख ५८ हजार ४५५ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।

´उत्तम सिंह जस्ता साहसी प्रहरी हाम्रो गौरव हुन्,´ भेटमा डिएसपी दाहालले भने, उहाँको ´बलिदानलाई संस्थाले कहिल्यै बिर्सने छैन,`

सम्बन्धित समाचार

ताजा समाचार