तिंकरमा स्वास्थ्य चौकी नहुँदा विरामी बोकेर चार घण्टा पैदल

दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरमा स्वास्थ्य चौकी नहुँदा स्थानीय अझै पनि विरामी परेपछि स्टेचरकै भर पर्न बाध्य छन् । चीनको सीमा नजिक रहेको तिंकर गाउँमा स्वास्थ्य चौकी नहुँदा सामान्य विरामी हुँदा पनि स्टेचरको भरमा अरु स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता छ ।
बुधबार ६८ वर्षीय जयसिंह खातीलाई तिंकर पुगेको बेला पेटमा गम्भीर समस्या भएपछि स्थानीय र सुरक्षाकर्मीले घण्टौं पैदल बोकेर उपचारका लागि तल झार्नुप¥यो । व्याँस गाउँपालिका–४ सुनसेरा घर भई लामो समयदेखि तिंकर क्षेत्रमा खच्चड व्यवसाय गर्दै आएका खाती तिंकरमा रहेको बेला एक्कासी पेट दुखेपछि अवस्था जटिल बन्दै गयो ।
टेलिफोनसमेत बिग्रिएर साउन २८ यता सम्पर्कविहीन बनेको तिंकरबाट छाङ्गरुस्थित स्वास्थ्यकर्मीलाई बोलाउन नसकिने भएपछि स्टेचरमार्फत बोकेर जिल्ला पठाइएको स्थानीय हितेश तिंकरीले जानकारी दिए । ‘खाती सितापुल छाङगरुबाट तिंकरसम्म खच्चडमार्फत समान ढुवानी गर्ने काम गर्नुहुन्थ्यो,’ तिंकरीले भने, ‘तर एकाएक गाउँमा बसेकै बेला विरामी हुनुभयो । गाउँमा स्वास्थ्य चौकी छैन् ।’
बाढीले छाङ्गरु तिंकरको घोरेटो बाटो बगाएपछि पैदल आवतजावत गर्नसमेत जोखिमपूर्ण अवस्थामा तिंकरबाट खातीलाई छाङ्गरुको सीतापुलसम्म पु¥याइएको उनले बताए । तिंकरबाट छाङ्गरु पुग्नै चार घण्टा बढि समय लाग्यो ।
तिंकरबाट छाङ्गरुसम्म पु¥याउन सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका चार र स्थानीय चार जनासहितको टोलीले स्टेचरमा बोकेर ल्याइएको नेपाली कांग्रेस दार्चुलाका उपसभापति मानसिंह बुढाथोकीले जानकारी दिए । छाङ्गरुमा प्रारम्भिक उपचार गरेर भारतीय बाटो हुँदै विरामीलाई दार्चुला सदरमुकाम पठाइएको हो । गाउँमा बोकेर लैजाने युवा नहुँदा सुरक्षाकर्मीकै सहायतामा खातीलाई तल झारिएको उनले बताए ।
पेटको आन्द्रासम्बन्धी गम्भीर समस्या देखिएपछि अस्पतालले खातीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार