भारी वर्षासँगै डडेल्धुरास्थित महाकाली नदीमा पानीको बहाब निरन्तर बढ्न थालेको छ । पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको सतक ६.८ मिटर पुगेको छ ।
’महाकाली नदी डडेल्धुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको र बढ्दो रहेकाले डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनेहरूले सतर्कता अपनाइराखौँझ, विभागको सूचनामा उल्लेख छ ।
यस्तै विभागले अर्को सूचना जारी गर्दै बाढी बढिरहेकाले भोलि बिहानसम्म नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दा सतर्क रहन आग्रह गरेको छ । यस्तै कञ्चनपुरमा पनि महाकालीको बहाब बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराअनुसार बहाब बढेर दुई लाख ९५ हजार ४५० क्युसेक पुगेको छ ।
