अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिनुभएको छ ।
ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने साहसिक निर्णय लिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । गएको अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पको यो बयान आएको हो ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्वपूर्ण निर्णय लिने र त्यो ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै हुन सक्ने बताउनुभयो । ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उहाँले रुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट आफू खुशी नभएको उल्लेख गर्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत गर्दै दुवै नेताहरू सँगै बस्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले आफ्नो कार्यकालमा सात वटा युद्ध रोकेको र तीन वटा सम्भावित युद्धलाई टारेको दाबीलाई फेरि दोहोर्याउनुभयो ।
यसअघि अगस्ट १८ मा यक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउसको भ्रमण गर्नुभएको थियो । जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताउनुभएको थियो ।
यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस–युक्रेन युद्धविराममा सहमत हुन सकेन ।
यसैबीच ट्रम्पले युक्रेनको एक अमेरिकी कारखानामा भर्खरै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कामदारहरू घाइते भएका थिए ।






