सुर्माभवानीको (जात्रा) आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ । अपि हिमाल गाउँपालिका–३ घाजिरबाट जात्रा सुरु भएको हो ।
जातका विशेष आकर्षणका रूपमा रहने ‘बिरे’हरू परिवारबाट छुट्टिएर औसीबाट बसेका हुन् । ‘बिरे’ भन्नाले सुर्माभवानीको जातका लागि दिनमा एक छाक खाने, मुहानको पानीमा हरेक दिन दुईचोटि नुहाउने, खाली खुट्टा हिँड्ने, रुद्राक्षको माला लगाएर बिहान–बेलुका शंख बजाउँदै पुजा आराधना गर्ने व्यक्तिलाई भनिन्छ ।
सुर्मासम्म जाने बिरेहरूलाई दुई भागमा विभाजन गरिएको हुन्छ । पहिलोचोटि सुर्मासरोवरको यात्रामा सहभागी हुने बीरेलाई बालोबिरे भन्ने गरिन्छ । बालोबिरेहरूले निकै कडा सामाजिक अनुशासनमा बस्नुुपर्ने हुन्छ । त्यस्तै एकचोेटि पहिले यात्रामा सहभागी भइसकेको व्यक्तिलाई बुढो बिरे भनिन्छ ।


औंसीदेखि १७ दिनसम्म र रतेडीदेखि ७ दिनसम्म प्रत्येक दिन विशेष पुजाआराधान गरि यो जात्रा मनाइने प्रचलन रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराले बताए । यो जात्रा अपिहिमाल गाउँपालिकाको अन्तिम गाउँ क्षेत्ति र घाजिर गाउँमा मनाइन्छ । प्रत्येक जोर बर्षमा सुर्मा भवानीको ठुलो जात्रा मनाइन्छ ।


यो जात्रामा सुर्मा भवानीको विशेष चेलाहरु जस्लाई ‘बिरे’ भनिन्छ, । विरेको रुपमा सुर्मा सरोवरको यात्रामा बझाङस्थित सुर्मा सरोवर जाने गर्दछन् । उता बझाङ सुर्मा गाउँपालिकाबाट समेत सिकारीको भेषमा सुर्मा सरोवर यात्रामा आउने गर्दछन् ।
यो जात्रा नेपालकै फरक तथा मौलिक जात्राको रुपमा लिने गरिन्छ । बिरेहरू स्थानीय विशेष पहिरनसहित खाली खुट्टा अपि हिमाल गाउँपालिकाका विभिन्न गाउँबाट घाजिर र क्षेत्ती गाउँ पुग्ने गर्छन् । क्षेत्तिबाट २४.५ किलोमिटर टाढा बझाङको सिमानामा पर्ने सुर्मासरोवर पुगेर फर्किन्छन् ।


सुर्मासरोवरमा देवीको आराधना गरी तलाउको माटोलाई प्रसादको रूपमा लिएर फर्कन्छन् । बिरेहरू सुर्मासरोवर जाँदा कापुचुली हिमालको आधार शिविर हुँदै पाँच हजार मिटरको उचाइबाट हिँड्ने गर्छन् । त्यसपछि कालिगाड हुँदै अर्काे पाँच हजार मिटरको दुबई पास भएर बिरे ओडार बस्नुपर्छ । दोस्रो दिन सरोवर पुगी पुनः बिरेओडार बसी अर्काे दिन क्षेत्ती गाउँ फिर्ता हुने चलन रहेको अपिहिमाल गाउँपालिका–४ का स्थानीय कमलसिह धामी बताउँछन् ।
फर्किदा उनीहरुले ब्रह्म फुलको माला पहिरनसहित फर्किने गर्छन् । अपि हिमाल गाउँपालिका–४ खण्डेश्वरीका ज्येष्ठ नागरिक बहादुर ठेकरेका अनुसार करिब ११औँ शताब्दीबाट सुर्माभवानीको जात निरन्तर रूपमा चल्दै आएको छ ।
पूजाका लागि उच्च हिमाली क्षेत्रमा कठोर यात्रा गर्दै सुर्मासरोवर पुगेर हरेक जोड वर्ष ठुली जात (जात्रा) मनाउने चलन चल्दै आएको छ । यो पूजा धार्मिक रुपमा निकै कष्ठकर छ । सुर्माभवानीले निर्माण गरेको भनिएको सुर्मासरोवर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यो समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाइमा छ ।
सुर्मासरोवरसम्मको यात्राका क्रममा खाली खुट्टा हिँड्ने गरिन्छ । कसैकसैले भाङको दोचा लगाएर जाने गर्छन् । स्थानीयहरू प्रायः खाली खुट्टै हिँड्ने गर्छन् भने अन्य जत्तोर (जात्रामा जाने) हरूले दोचा लगाउने अनुमति पाउँछन् । यो जात्रामा टाउँकोमा टोपी र सउल अनिवार्य मानिन्छ ।

घाजिर पुगेका विरे र जत्तोर (भक्तजन)हरुले सुर्मा देवीका विभिन्न फाग, माँगलहरू गाउँदै देउडा खेल्दै राम रमिता गरिन्छ । त्यसलाई रतेडी भनिन्छ ।
यो मेला धार्मिक र पर्यटकीय मात्रै नभई सांस्कृतिक हिसाबले पनि जिल्लाकै महत्वपूर्ण मेला हो । जनावरको छालाबाट बनाएका परम्परागत ढाँका (एक प्रकारको बाजा) बजाउँदै गरिने दुर्लभ नृत्य, डाँफे नाच, महिलाहरूको समूहले खेल्ने ‘चाहा’ खेललगायतका दुर्लभ दृश्यहरू जात्राको बेला हेर्न पाइन्छ ।
सुर्मा क्षेत्रको सुन्दरता र धार्मिक सांस्कृतिक हेर्नका लागि विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिसहरू सुर्मा जात्रामा सहभागि हुने गर्छन् ।
यसरी बित्छ जात्राका सात दिन
पहिलो दिन : जात्राको विधिवत सुरुवात मान्ने औसीको दशौँ दिनदेखि सुरु हुन्छ । यो दिनलाई रतेडि भनिन्छ । उवादेशी यात्रीहरू पहिलो दिन क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा जम्मा हुन्छन् । राती सुर्माभवानीको मण्डपमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काप्ने र रङ्गीचंगी गर्ने (रमाइलो गर्ने) अथवा देउधमेउलो पूजापाठ गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ । वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ । यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न बनाइएको पाइन्छ । उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नुपर्छ र वाइदेशी ४ दशमलव ५ फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली नेतृत्व हुन्छ। त्यसको लौरो ७ दशमल ५ फिटको हुन्छ। यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भन्ने गरिन्छ ।

दोस्रो दिन : जात्राको दोस्रो दिन सोमबार घाजिरबाट यात्रुहरू क्षेत्ती गाउँ जाने गर्छन् । यो जात्रामा जुत्ता लगाउने, छाता ओढ्न पाइदैन् । भाङ्गोको दोचा (जुत्ता) बनाएर लगाउने गरिन्छ । यो दिन वीरेहरू तथा यात्रुहरू ढाको (बाजा) बजाएर चाँहै (स्थानीय भाषाको गीत) खेल्दै जाने गर्दछन् । जात्रा शुरु हुँदा क्रमबद्ध शुरुमा निशान (झण्डा) त्यसपछि धामी (झाक्री) ढाके, पूजारी, मुला र वीरेहरू जानेगर्छन् । घाजिरबाट गएका यात्रुहरुलाई स्वागत गर्न क्षेत्तीबाट पनि बाजागाजासहित देउताको नाँच गानासहित जय जयकार गर्दै आउने गर्छन् । उनीहरुको क्षेत्तीको काना ढुँ–ढुँ भन्ने ठाउँमा भेट गर्ने परम्परा रहेको छ ।

तेस्रो दिन : सुर्मा सरोवर जात्राको तेस्रो दिन वीरेहरू सुर्मा सरोवरको यात्रामा हिड्छन् । वीरेहरूलाई भवानीको भक्तको रूपमा स्थानीय भेषमा सिङ्गारपटार गरेर बिदाई गर्ने गरिन्छ । बाजागाजासहित सम्पूर्ण यात्रुहरूले तीर्थ जाने वीरेहरूलाई अक्षता र पाति चढाएर बिदाई गर्ने गरिन्छ । वीरेहरूलाई आधा बाटोसम्म ढाके, धामी तथा वीरेका लागि सहयोगीहरूले आधा बाटोसम्म पुर्याउने चलन छ । वीरेहरूले विशेष खाजा साकार गेडी बनाएर लिने गर्दछन् । जाँदा बाटोमा सुर्माभवानीको जयजयकार गर्दै उचेडा गाउने गर्छन । यो यात्रामा मुलाको निर्देशन बमोजिम अगाडि बढ्नु पर्दछ । यात्राको सुरुवात क्षेत्तीबाट हुन्छ र अन्निखाना, धरमघर, लाडुचढाउन, वीरेफट्टा ठडिउल, दुबै हुँदै वीरे ओडारमा गएर बास बस्ने गरिन्छ । यता वीरेहरूलाई बिदाई गरेपछि क्षेत्तीमा विभिन्न देवीदेवताको चैत, भाडिखेल, ढुस्को, डेउडा खेल्ने गरिन्छ भने ढाको बजाएर चाँहै खेल्दै रमाइलो गर्ने गरिन्छ ।
चौथो दिन : सुर्माभवानीको जात्राको यो दिन सबैभन्दा महत्वपूर्ण दिन हो । अघिल्लो दिन उच्च हिमाली क्षेत्रमा करिब २० किलोमिटर खाली खुट्टा हिँडेर ओडारमा भोकभोकै बसेका बिरेहरू बिहान स्नान गरेर सुर्मासरोवरका लागि हिँड्छन् । बिरे ओडारबाट केही घण्टाको यात्रा सर्वाधिक कठिन हुन्छ । यसक्रममा चार हजार मिटरको उचाइमा पुगेपछि घुँडा र कुइनोले टेक्दै हिँड्नुपर्छ । यसरी हिँड्दा दायाँबायाँ कतै हेर्न मिल्दैन । बाटोमा आँखा अगाडि देखा पर्ने हरेक ढुंगामा हरियो झार राख्दै देवीको नाम जप्दै हिँड्नुपर्छ । घुँडा र कुइनो टेकेर हिँड्दा मुखमा हरियो घाँस राख्नुपर्ने नियम छ । सरोवरनजिक पुग्दा करिब तीन सय मिटरभन्दा बढी हात र खुट्टाले घिस्रेर हिँड्नुपर्छ । देवीलाई खुसी पार्न र आफूले गरेका गल्ती कमजोरीप्रति माफी माग्दै यसरी हिँड्ने चलन रहेको मुला हरिमल मन्यालको भनाइ छ । ‘मुखमा घाँस राखेर माफी याचना गर्ने र अगाडि देखिने ढुंगालाई देवताको प्रतीकका रूपमा घाँसले पूजा गर्ने चलन छ, । तलाउको किनारमा पुगेपछि बिरेलौरो पानीमा डुबाएर अर्पण गरिन्छ । त्यसपछि देवीलाई चढाउन लगेको चाँदीको सानो काइँयो, सुनको टिलो (टुक्रो), सिक्का तथा अन्य चिनाबाना तलाउमा चढाइन्छ । तलाउको किनारमा श्राद्ध गर्ने, पिण्डदान गर्ने कामसमेत हुन्छ । केही घण्टासम्म चल्ने देवीको पूजापछि तलाउको माटोलाई ‘गंगामाटी’का रूपमा थैलीमा भरेर ल्याउने गरिन्छ । दार्चुलातर्फका बिरेहरूले बिदाइ गरेपछि मात्र बझाङतर्फको समूह तलाउमा आएर स्नान गर्न पाउँछ । बझाङबाट आउने तीर्थालुहरू तालमा भाला हान्दै, होहल्ला गर्दै आउने गर्छन् । सरोवरबाट फर्किएर बिरेहरू त्यो साँझ पुनः ओडारमै बस्छन् । त्यसपछि हरेक बिरेहरूबाट घिउ, तेल, पिठो संकलन गरेर पुरी पकाउँदै रातभरि भोज गरिन्छ । तेस्रो दिन दिउँसो मात्र खाना खाएका बिरेहरूले चौथो दिन राति करिब २२ घण्टापछि खान पाउँछन् ।

पाँचौ दिन : यो दिन यात्रीहरू बिरेओडारबाट बिहानै हिँड्छन् । फर्किंदा भने जाने वेलाकोजस्तो कठोर नियम पालना गर्नुपर्दैन । आ–आफ्ना समूहमा, आ–आफ्ना सुविधाअनुसार फर्किन पाउँछन् । त्यसपछि सबैजनाले बिरफट्टो भन्ने ठाउँमा आएर जम्मा हुनुपर्छ । साढे चार हजार मिटरको उचाइमा यहाँ बिरेदौडको आयोजना गरिन्छ । उकालोमा करिब दुई सय मिटरको दौडमा बालाबिरेहरू मात्र सहभागी हुन पाउँछन् । दौड जित्नेले मुलाबाट अबिरको टीका पाउँछन् भने विजेतालाई मुलासँगै हिँड्ने अधिकार प्राप्त हुन्छ । बिरेदौड सम्पन्न भएपछि क्षेत्तीतर्फको ओरालोमा बालाबिरेहरूले ब्रह्मकमल फूल टिप्ने गर्छन् । साढे चार हजार मिटरको उचाइमा लटरम्म फुलेको ब्रह्मकमल फूल टिपेर माला साट्न बगरमा फूलहरूको माला गाँस्ने काम हुन्छ । ब्रह्मकमललाई स्थानीयहरू ब्रह्मकोइला पनि भन्ने गर्छन् । शरीरभरि ब्रह्मकमलको फूल लगाएर साँझ पर्ने वेलामा क्षेत्तीगाउँतर्फ अघि बढ्छन् । क्षेत्ती गाउँमा बिरेहरूको भव्य स्वागत हुन्छ । सरोवरबाट ल्याएको गंगामाटी निधारमा लगाउँदै आफन्तहरूसँग खुसियाली मनाइन्छ । त्यो साँझ बिरेहरूलाई घरघरमा लगेर खुवाउने गरिन्छ । यो दिन क्षेत्ती गाउँका जुनसुकै घरमा जोसुकै गएर पनि खान र बस्न पाउने छुट हुन्छ । सरोवरबाट आउने बिरेहरूलाई देवीका अवतार मानेर घरघरमा भित्र्याउने चलन रहेको छ ।

छैठौँ दिन : जात्राको छैठौँ दिन सबै तीर्थयात्रु वीरेहरू र यात्रुहरू घाजिर जाने गर्दछन् । यो दिन जात घाजिरमा पुगाउने गरिन्छ । यो दिन पनि सबै वीरेहरू, धामी, पूजारी, ढाके तथा सबै यात्रुहरू बाजा बजाउँदै नाचगान गर्दै, चाँहै खेल्दै घाजिर पुग्ने गर्दछन् । घाजिरबाट पनि भव्य स्वागत गरिन्छ र सुर्माभवानीको मण्डपमा पूजा आजा गरेर घर घरमा खाना खाएर कोही त्यही बस्दछन् भने क्षेत्तीका वीरेहरू, धामी पूजारी तथा यात्रीहरू त्यसै दिन राती क्षेत्ती फर्कन्छन् । भने घाजिरमा रातभरी भाडिखेल डेउडा खेल्दै रमाइलो गर्दै विताउँछन् ।

सातौँ दिन : यो दिन उवादेशी अथवा क्षेत्ती गर्खाका समुदायमा बस्ने वासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । यो दिन आफ्ना इष्टमित्रहरू वोलाएर भोज खुवाउे चलन छ। त्यसदिन छैठ दिनेले अनिवार्य कालीदेवीको मन्दिरमा बलि दिने चलन छ । किंवदन्ति अनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको वलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा वोकाको वलि दिने चलन रहेको छ । यस दिन छैठका गीतहरू गाउने चलन छ। छैठसँगै हरेक तेस्रो वर्ष लाग्ने सुर्माभवानीको ठुलो जात्रा औपचारिक रूपमा समापन हुन्छ ।