दुम्लीङमा झोलुङ्गे पुल नहुँदाको पीडा : “तुइनले खोस्यो कुस्माको जेठो सन्तान”

दार्चुला । आँखा सुकेका छैनन्, मन अझै भतभती पोलिरहेको छ । कुस्माको लागि खुसी जीवनमा सायद कहिल्यै लेखिएको थिएन । एकपछि अर्को गर्दै संसार झन् अध्यारो बन्दै गएको छ । दार्चुलाको व्याँस गाउँपालिका–२ की ४५ वर्षीया कुस्मा बुढाथोकी आज पनि आँशुको धारा बगाउँदै बाँचिरहेका छन् । ३१ असार, बिहान ८ बजे घरबाट बजार जाने भनेर निस्केका जेठा छोरा नारायण बुढाथोकी (२८) अब कहिल्यै फर्केर आउने छैनन् ।
तीन छोरा र एक छोरीको आमा कुस्माले निकै कम उमेरमै सन्तानको जन्माइन् । चार सन्तानपछि श्रीमान् नेत्र बुढाथोकी पनि खुसी थिए । घरभरि सन्ताले भरिएपछि खुसी नहुन पनि कसरी ? तर त्यो परिवारको खुसी लामो समय रहन सकेन् । सन्तान जन्माउँदाको पीडा भुलेका कुस्माको लागि अहिले कोखमा माया गर्ने न श्रीमान रहे, न पीडा बिर्षिएर हुर्काएका तीन छोरा नै । अहिले कुस्माको कोख रित्तो छ । सपना उजाड भएको छ । छ त केवल छोरी भावना (१९) वर्ष मात्रै ।
पहिलो दिनेशलाई पाँच वर्षको उमेरमा निमोनियाले लियो । गाउँमा उपचार गराउन कुनै स्वास्थ्य संस्था त्यो बेला थिएन् । उपचारकै लागि दार्चुला हुँुदै भारतको पिथौरागढसम्म पु¥याए । तर उनि रहेनन् । छोरा वितेको केहि समय पछि श्रीमान नेत्रको मृत्यु भयो । अहिले श्रीमान् वितेको १८ वर्ष भयो ।
अर्को छोरा सुरेश ९ वर्षको हुँदा वित्यो । फोक्सोमा क्यान्सर पीडित छोराको उपचारको लागि कुनै कसुर बाँकी राखेन् । घरको जायज्येथा उपचारमै लगाए । तर छोरो कहिल्यै नफर्किने गरी गयो । घरमा एकपछि अर्कोको मृत्युको चिहान हेरिरहेका कुस्मा हुँदा हुँदा जेठो छोरा नारायणको मृत्युपछि भावविहिल छन् ।


आर्थिक अवस्था कमजोर भएकै कारण छोरी भावनाको पढाई अधुरै रह्यो । ९ कक्षासम्म मात्रै पढेका भावना अहिले गाउँमै छिन् । कुस्मा भन्छिन्, ‘घरमा आर्थिक सहारा नभएकै कारण छोरीले पढ्न पाएन् ।’ ‘अब म बाँचे जस्तो छैन, कुस्मा भक्कानिन्छिन् । आँखाबाट बग्ने आँशु थामिँदैन ।’
घरमा जम्मा एउटै छोरा बाँचेका थिए, नारायण । अब त त्यो पनि छैन । दुम्लीङमा काठे पुल नहुँदा महाकाली तर्ने क्रममा तुइन चुडिएर नारायण विलय भए । आज कुस्मासँग बाँचेकी छोरी भावना मात्र साथमा छ । छोरी, बुहारी र नातीको अनुहार हेरेर पीडा विर्षाउने प्रयास गर्छु तर सक्दिन् कुस्मा सुनाउँछिन् ।
‘अब कसले घर चलाउने ? बुहारी दुई जिउकी छिन्, नाती सानै छन्,’ कुस्माको स्वर अझ चिरा पार्ने हुन्छ । ‘त्यो दिन नारायणले हिड्ने बेलामा घरमा केही सोधेन । सोधेको भए नेपालकै बाटो हिँड भन्न सक्थेँ,’ कुस्मा सम्झिन्छन र आँखा पुछ्छिन् ।

नारायणप्रति थियो आँशा
घरमा बचेका कुस्माको जेठो सन्तान हुन नारायण । नारायणले विहे गरेको ११ वर्ष भएको थियो । नारायणबाट एउटा छोरा समिर (१०) वर्षको छ । व्याँस गाउँपालिका–४ सीनाका २४ वर्षीया जानकी धामी बुढाथोकीसँग प्रेम विवाह गरेका उनको परिवार राम्रौ चल्दै थियो ।
गरिबीबाट माथि उठ्ने प्रयास हुँदै थियो । दश वर्षपछि दोस्रो सन्तान पाउने आशामा थिए नारायण । जानकी अहिले दुई जीउ कि छन् । अबको एकसातापछि उनले दोस्रो सन्तानको जन्म दिदैछन् । तर जसको खुसीको लागि बच्चा पाउन राजी भएका थिए जानकी, उनका श्रीमान् नारायण अहिले साथमा छैनन् । श्रीमान्को खुसी पूरा गर्ने जानकीको चाहना अधुरै रह्यो ।
गाउँमा खानलाई पुग्ने गरी खेत छैन् । १०।१२ बाख्रा पालेको थियो नारायणले । जडिबुटी संकलन गर्ने र परिवारको जोहो चलाएको थियो । छोरालाई राम्रो विद्यालयमा पढाउन यसै वर्ष खलंगा पु¥याएको थियो । आफु र बहिनी पढाउन नसकेको पीडा भुलाउन छोराको भविष्य सोचेका थिए नारायणले जानकीले विगत सम्झिए ।
थोरै भए पनि गाउँमा सानो व्यापार व्यवसाय गरेर पैसा कमाउने सोच राखेका थिए । घरमा भएका बाख्रा बेचेर दुई महिना अघि पसल थापेका थिए, दुई महिना नपुग्दै त्यो पसल पनि थन्कियो । अहिले पसलमा ताला छ । आमा र परिवारले नारायणप्रती विश्वास भरोसा गरेर बुनेका सपना अहिले आँशुमा बगेका छन् । पेटमा बच्चा हुर्किदै गर्दा जानकीलाई श्रीमान्को पीडाले पिरोलि दिएको छ ।

परिवार पाल्ने चिन्तामा कुस्मा
कुस्मा भन्छिन् ‘नारायण वेपत्ता भएको थाहाँ पाएपछि वडा अध्यक्ष धिरनसिंह बुढाथोकी आए, ५–६ हजार नगद दिएर गए । चिन्ता गर्नुपर्दैन भन्दै ढाडस दिएर फर्किनुभयो ।
त्यसपछि कोही जनप्रतिनि सोध्न समेत आएका छैनन् । गाउँले कहिलेकाही आउँछन्, सहानुभूति दिन्छन् । देशमा सरकार छ भन्छन्, तर हामी गरिबको झुपडी रित्तो हुँदा पनि कसैले सुनिदिएन् । हाम्रो परिवारको पीडामा मह्लम लगाउने कोही सरकार पुग्दैन् ।


छोरी भावनालाई सानो जागिर लगाइ दिए पनि खान हुन्थ्यो । दुई जीउ भएकी बुहारीले कसरी काम गर्छ । म उमेरले थन्किदै गएको छु । जीन्दगीका सारा खुसी रित्तो बनाउँदा पनि यो संसारमा सहयोग गर्ने भगवान् पनि निष्ठुरी छन्, कुस्मा बिलौना गर्छिन् ।
गाउँमा जमिन थिएन् । जमिन किनेर घर बनाए । घर बनाए लगत्तै श्रीमान्को मृत्यु भयो । तीन छोरा पनि घरमा हुर्किन नपाउँदै गए । अहिले त्यहीँ झुपडीमा बस्न नसकिने अवस्था आएको छ । कहाँ जाउँ कहाँ गएर छोरी बुहारी र नाती पालु ……………. ।

तुइनको जोखिम र राज्यको लापरवाही
त्यो बिहान कुस्मा बिहानै राज्मा गोड्मेल गर्न खेतमा हिडेका थिए । छोरा नारायण सुतेकै थियो । श्रीमति जानकीलाई समेत बजार जान्छु भनेर भनेको थिएन् । अलिअलि श्रीमति सुत्केरी भए पछि समान चाहिन्छ, जोर जमर्को गरौं भन्दै थियो । तर त्यति चाडै बजार जाला भनेर सोचेको थिएन् ।
बजार जान्छु भनेको भए नेपालको बाटो बाट मालस्थित झोलुङ्गे पुलबाट जाउ भन्थे कुस्माले भनिन्, तर कसैलाई नभनि घरबाट हिडेछ । गाउँबाट पुल भएको ठाउँ पुग्न दुई घण्टा हिड्नुपर्छ । तुइन लगाएको ठाउँमा ५ मिनेटमै पुगिन्छ । तुइन नियमित लगाउन भारतीय एसएसबीले दिदैन् तर चार पाँच दिनदेखि त्यो ठाउँको तुइन काटिएको थिएन् ।
तुइन तरेर भारतपट्टि पुग्नेवित्तिकै गाडी पाउँछ । तर नेपालतर्फ हिड्नुपर्ने कस्टकर छ । छोरासँग तीन जना गाउँका गएका थिए । एक जना पारि भारत पुगेको रहेछ, कुस्माले सुनाइन, छोरा तर्नेबेला महाकालीको मध्यभागमा पुग्दा तुइन चुडियो, १२ बजेमात्रै हामीले थाहाँ पायौं ।
दार्चुलाका दुम्लीङ र कल्जु बस्तीको लागि झोलुङ्गे पुल बनेको छैन् । वर्षेनी महाकाली नदीमा तुइनबाट मानिसको मृत्यु भइरहेको छ ।
सरकारले २०७२ सालमा देश तुइनमुक्त घोषणा गरेको थियो । व्याँसका अन्य ठाउँमा तुइन विस्थापित भएर झोलुङ्गे पुल बने । दुम्लीङमा झोलुङ्गे पुलको लागि माग भएको दशकौं भयो तर सुनुवाइ भएको छैन्, वडा अध्यक्ष धिरनसिह बुढाथोकीले भने । यो ठाउँबाट अहिलेको झोलुङ्गे पुल पुग्न दुई घण्टा समय लाग्छ । नेपालतर्फ दार्चुला टिंकर सडक निर्माणाधीन छ । सडकको ट्रयाक पूरै खुलेको छैन् । नागरिक वर्षौंयता तुइनमा झुन्डिएर नदी पार गर्दै आइरहेका छन् । दुम्लिङमा मात्रै १०५ परिवारको बसोबास छ ।
तुइन विस्थापन नभएका कारण मेरा वडाका नागरिकले अकालमै ज्यान गुमाउने गरेको वडा अध्यक्ष बुढाथोकी बताउँछन् । उनका अनुसार २०५० देखि २०८२ असार ३१ गतेसम्म ३२ वर्षको अवधिमा दुम्लिङगाउँका २० जना तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको पछिल्लो तथ्याङ्क अनुसार २०७८ असार १५ गते व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिह धामी, २०७९ असार २२ गते १८ वर्षीय सचिन बुढाथोकी र २०८० बैशाख ९ गते ४५ वर्षीय सिन्दलसिह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको छ ।
वडा नम्बर २ कै मालगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भए पनि दुम्लिङबाट झोलुङ्गे पुलसम्म पुग्न तीन घण्टाको पैदल दुरी हिँड्नुपर्ने बाध्यता छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडक मालगाउँमा मात्रै पुगेको छ, मालगाउँबाट तीन घण्टाको पैदल दुरीमा दुम्लिङगाउँ पर्छ ।
नेपाल सरकारको तुइन विस्थापन योजना अनुसार दार्चुलाको लेकम गाउँपालिका–३, लाली, मालिकार्जुन गाउँपालिका–६, उकु, व्यास गाउँपालिका–२, मालगाउँ, वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर ६ को बडुगाउँमा नेपाल–भारत जोड्ने नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् ।
स्थानीयले सरकारलाई दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि कैयौंपटक आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताए । महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माणका गरे पनि दुम्लीङको पुल निर्माणको लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार

ताजा समाचार