सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहणमा सरकारले सलामी शुल्क छुट दिने

सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका हिमाल आरोहणमा लाग्ने सलामी शुल्क (रोयल्टी)मा छुट दिने निर्णय गरेको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीमा रहेका ९७ हिमाल आरोहणमा दुई वर्षका लागि पूर्णरुपमा सलामी शुक्ल छुट गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८२÷०८३ र २०८३÷०८४ का दुई आर्थिक वर्षका लागि पर्यटन ऐन २०३५ को दफा ३६ तथा पर्वातारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम सलामी शुल्क पूर्णरुपमा छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


सलामी शुक्ल छुटका लागि सुदूरपश्चिमको अपिहिमाल गाउँपालिकाले सरकारलाई आग्रह गरेका थिए । सुदूरपश्चिमका हिमालहरूको आरोहण नहुँदा यस क्षेत्रको पर्यटन विकास नभएको ठहरसहित अपिहिलमाल गाउँपालिकाले बैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई अनुरोध गरेको थियो ।
सुदूरपश्चिममा अपि (७,१३२ मि.), नाम्पा (७,११० मि.), सैपाल इस्ट (६,८८२ मि.), जेठी बहुरानी (६,८५० मि.)लगायत पाँच हजार माथिका थुप्रै हिमालहरु छन् । यी हिमालका आधार शिविरहरूमा पर्यटकहरू ट्रेकिङका लागि पुग्ने गरेपनि सफल आरोहण हुन सकेको छैन ।
सरकारले रोयल्टी छुट निर्णयले उच्चहिमाली क्षेत्रको पर्यटनको ढोका खोलेको अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकेरे बोहराले बताए । ‘सरकारको यो निर्णयले सूदूरपश्चिम र कर्णालीको हिमाली पर्यटनमा यो दुरगामी महत्व बोकेको छ,’ बोहराले भने ।
अपिहिमाल गाउँपालिकाले पर्यटक क्षेत्रमा वर्षेनी लगानी गर्दै आइरहेको छ । सूदूरपश्चिम प्रदेशकै अग्लो हिमाल दार्चुलाको अपिहिमालमा रहेको हुँदा त्यहाँसम्म पर्यटक भित्र््याउन गाउँपालिकाले काम गरिरहेको छ ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको छ । विभागबाट आव २०७९÷८० मा अपि हिमाल गाउँपालिकाको खाइकोटदेखि अपि वेशक्याम्पसम्म १६ किलोमिटर पदमार्ग निर्माण गरिएको छ छ ।
यस्तै आव २०८१÷८२ मा ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
अपि हिमाल गाउँपालिकाका पर्यटन इकाइ प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार गत आव २०८१÷८२ मा १०३ जना विदेशी तथा दुई हजार ७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल भ्रमण गरेका छन् ।
अपि हिमालमा पर्यटक भित्र्याउन गाउँपालिकाले अपि भ्रमण वर्ष–२०८० सञ्चालन गरेको थियो भने अतिथि सत्कारका लागि ६१ जना महिला र पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम दिएको छ । यस्तै ट्रेकिङ गाइडसम्बन्धी तालिम प्रदान गरी ट्रेकिङ गाइड उत्पादन गरेको छ ।
यो क्षेत्र दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ । यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पाइन्छन ।
यस्तै डाँफे , चीर, चिल, च्याखरु , हलसे , भ्याकुर लगायत २०० भन्दा बढी चराका प्रजातिहरू पाइन्छन् ।

सम्बन्धित समाचार

ताजा समाचार