दीपा भण्डारी – असारको अन्तिम साता थियो । धनगढीको एक निजी मेडिकल अस्पताल, दिउँसो करिब तीन बजेको समय, भीड एकदमै बाक्लो थियो । प्रायः गर्भवती महिला दिदीबहिनीहरु आफ्नो स्वास्थ्य परिक्षण गराउन लाइनमा बसेका थिए । कसैको हातमा औषधिको झोला, कसैको हातमा रिपोर्ट, कसैको बच्चा अनि कसैको नजिकै श्रीमान् त कसैको आफन्त र कतिपय एक्लै पनि । मैले एउटी आमालाई देखे केहि फरक लाग्ने, अनि एक्लै पनि हुनुहुन्थ्यो, र अलग्गै बसेको देख्दा केहि समय उहाँलाई दिने सोच बनाए ।
उमेरले झन्डै ४३ वर्ष, अनुहारमा चाउरी परेका, निन्याउरो अनुहार, चिन्तित र निकै थकित शरीर । पुख्र्याउलि घर बैतडी बताउने ती आमाको अनुहारमा गर्भवती हुनुको हर्ष थिएन् जुन अन्य महिलाहरुको आँखामा झल्किन्छ । असारको अन्तिम समय लामो समयसम्म पानी नपरेकाले प्रचण्ड गर्मीमा उहाँको रुप नै परिवर्तन थियो । म नजिक पुगेँ अनि पानी पिउनु हुन्छ आमा भन्दै सोधे झट्ट हेर्नू भयो चिसो भए दिनुन बाबु यहि शब्दमा मैले ममताको आभास गरे ।
मैले सोधेँ, “आमा, कति महिनाको भयो ? “उहाँ झ्याप्प गरेर हेर्नुभयो, करिब दुई–तीन सेकेन्ड, निकै निराश निकै अप्ठ्यारो र निकै थाकेको जस्तै देखिने ती आमाले आठौँ महिनामा छु, तर बाबु यो म खुशी भएर हैन उहाँको यो कुराले म अलमल परे र बुझ्न खोजे किन आमा ?
उहाँले भन्नुभयो समाजको अगाडि देखाउनु छ मेरो छोरा नभएको कारण म अपुताली आइमाई हुन पुगे सन्तती राख्न र अंश खाने छोरा समाजलाई चाहिने रहेछ । निशब्द भए एक छिन चुप बसे र ती आमालाई हेरिरहे । उहाँले मलाई सोध्नुभयो बाबुको घर कहाँ पण्यो ? मैले अछाम हो आमा भनेर उत्तर दिए । उहाँले फेरि सोध्नुभयो बाबुले ब्याँ हर्या नाइकी भनेर मैले नाइँ आमा, फेरि सोध्नुभयो के गर्नुहुन्छ बाबु ? मैले त्यस्तो केहि छैन आमा अलिकति पढाई छ उहाँले कुरा अगाडि बढाउनुभयो सायद धेरै समय अस्पतालमा लाग्ने भएकोले अनि एक्लो महसुस गरिएकी उहाँको अगाडि म गएर कुरा गर्दा सहज नै भयो जस्तो महसुस गरे । उहाँले फेरि सोध्नुभयो पढाई कहाँसम्म पुर्याया बाबु अनि मैले आमा मेरो ब्याचुलर सकियो .. उहाँले मुस्कुराउदै भन्नुभयो छोरी पनि कम हुदैनन् भन्ने कुरा नबिर्सनु बाबु म पनि मेरा छोरीलाई धेरै पढाउने र समाज परिवर्तनका लागि लड्ने बनाउने हु ! आमाको यो सकारात्मक कुराले मलाई उर्जा थपियो भित्रभित्रै एक प्रकारको हौसला पनि । अनि मैले सोधे आमा छोरी कति छन् उहाँले ५ वटा छन् बाबु जेठी छोरी अहिले १५ मा पढ्छ पछाडि किले १२ पास गरि अरु सानै छन् ।
आमाले कथा सुनाउन थाल्नुभयो ।
उहाँका पाँच छोरी छन्, राम्रो स्कुलमा पढिरहेका छन् । घरको अवस्था पनि ठिकै छ । तर छिमेकी, आफन्त, श्रीमान्को दाजुभाइ, जेठानी देवरानी सबैले एउटै प्रश्न सोध्थे ? कहिलेसम्म छोरी छोरी भन्ने ? एक अंश खाने पनि त चाहियो ? छोरा नभएपछि के आमा हुनु ? किरिया कस्ले गरिदिन्छ ?
ती सबै तिखा वाक्यहरूले उहाँको हृदय बिझाइरहेका छन् । छोरीहरु भगवानको दोस्रो रुप हुन जब सबैका वचन सुनेर मन दुखिरहन्छ आफ्ना छोरीलाइ देख्छु सारा खुसी यिनै हुन् । तर मेरा छोरीहरुका मायालाई समाजले मान्यता नै दिएन । किनकि समाज छोरा नहुने महिलालाई अपुताली भन्दो रहेछ । यहि शब्दले सधै बिझाइ रहदा फेरि गर्भवती हुन बाध्य भए ।
मेरा श्रीमान् आफै केही समय त चुप लागेर बसे, तर समाजको दबाबले गर्दा ४३ वर्षको उमेरमा फेरि सन्तान जन्माउने निर्णयमा मैले नाइ नास्ती गर्न सकेन छोरा पाउने आँशामा ।
शरीर थाकिसकेको थियो, मन त झनै थाकेको ।
तर समाजको “अपुताली” भन्ने शब्द, परिवारको आँखामा लाज, अनि आफन्तको घृणित व्यवहारले उहाँलाई फेरि कोख भारी बनाउन बाँध्य तुल्यायो ।
आमाको कुरा सुन्नुबाहेक विकल्प थिएन्, उहाँले भन्नुभयो यो बच्चा मेरो सपना होइन, समाजको दबाब हो । म यो अवस्थामा खुसी छैन । फेरि छोरा हुन्छ भन्ने ग्यारेन्टी पनि त छैन् ।
त्यो वाक्यले मेरो मनमा चिसो पस्यो मेरो दर्बिलो खुटा एक्छिन कापे । मेरो कोमल मन छियाछिया भयो । म हेर्दै थिएँ ती आमाको अनुहारमा कुनै उज्यालो थिएन, हाँसो थिएन, सपना थिएन । थियो त केवल पीडा , बाध्यता र जिम्मेवारी जुन उहाँलाई ‘अपुताली’ भन्ने समाजले जबर्जस्ती कोखमा थोपरेको थियो ।
प्रिय दिदीबहिनीहरू, तपाईं पनि त एक छोरी हुनुहुन्छ, अनि किन छोरी हुनुमा गर्व गर्न सक्नुहुन्न ?
मलाई लाग्छ छोरी जन्म दिने होइन, जीवन बोक्ने शक्ति हो।
जिम्मेवार छोरी बन्ने शक्ति आमा बन्ने आँट, दिदी बन्ने आट, जीवन साथी बन्ने शक्ति , साथी बन्ने समझदारी यी सबै छोरीका स्वरूप हुन् । छोरीले घर मात्र हैन, समाज र देश परिवर्तन गर्न सक्छ भन्ने थुप्रै उदाहरण तपाईंले पनि त देखिसक्नु भएको छ हैन र ? आज डाक्टर, पाइलट, वैज्ञानिक, शिक्षक, सेना, पत्रकार, राजनीतिक देखि हरेक क्षेत्रमा छोरीहरूले उत्कृष्टता देखाइरहेकी छन् । छोरी पीडाको प्रतिक होइन, परिवर्तनको पात्र हो ।
उसले सहन्छ, तर चुप लाग्दिन। उसले सहारा दिन्छे, तर अब उपेक्षा सहदैन। छोरी हुनु कमजोरी होइन, त्यो त शक्ति हो । यदि इतिहास हेर्नुभयो भने, महानायकहरूभन्दा पनि महान नायिकाहरूको त्याग, संघर्ष र नेतृत्वले समाजको दिशा बदलेको छ । गर्व गर्नुस् कि तपाईं छोरी हुनुहुन्छ । त्यसैले आज, छोरी भएर जन्मिएकोमा लाज हैन, गर्व गर्नुहोस् । किनकि तपाईं आफैँ एक प्रेरणा हुनुहुन्छ । शब्द साना हुन्छन्, तर घाउ गहिरो बनाउँछन् ।
प्रिय दिदिबहिनीहरु !
तिमीहरुलाई मन दुख्छ भने, अरूको पनि मन दुःख छ किन बुझ्दैनौ । मलाई लाग्छ महिलाको दुश्मन महिला नै हुन्छन हैन भने आमा मन सबैलाई पर्ने तर सासु बिरलै । छोरी सबैलाई मनपर्ने तर बुहारी बिरलै । दिदिबहिनी सबैलाई मनपर्ने नन्द अमाजु बिरलै । साथी सबैलाई मनपर्ने तर जेठानी देवरानी बिरलै । दाजुभाइ सबैलाई मनपर्ने तर जेठाजु देवर बिरलै …. अनि महिलाको सत्रु महिला नभएर को ? यो कुराले मलाई सताइरहेको छ ।
याद राख्नुहोस् हिजो तिमी जस्तै प्यारी छोरी थिइन। तिम्री सासू एक दिन तिमी सासू हुनेछौ , अनि एकदिन कसैको श्रीमति हुँदै बुहारी ,भाउजु , जेठानी – देवरानि हुदै आमा बन्ने सौभाग्य पाउन सक्छौ तर छोरी भएकै कारण बारम्बार कसैको मन दुखाउनु निन्दनीय कार्य हो भनेर किन सकारात्मक सोच्न सक्नु हुदैन । आमाबुवा मन पराउने छोरीलाइ बुहारी हुने बितिक्कै किन सासुससुरा मन पर्दैनन् त्यो वातावरण सकारात्मक, सहयोगी र सम्मानित कस्ले बनाउने एक छोरीले नै हैन र ? हिजोका छोरी आज आमा हुँदै बुहारी हुँदै सासु बने भने आजका छोरी पनि त्यहीँ हुनेछन् । तर आफुले पाएको हेला, दुःख र अपमान अरुलाइ गर्न हुदैन यहि कुराले कति पीरपर्छ भन्ने भोगेर पनि अरुलाइ दुःख दिने काम गर्नु गलत हो जस्तो किन लाग्दैन् । यो कुरा सकारात्मक तरिकाले बुझिदिदा समाजमा कुनै पनि छोरीहरुले दुःख पाउने थिएनन् ।
