दार्चुलामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्दै

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएकाहरू दिनहु आइरहेका देखिन्छन् । कार्यालय समयमा जिल्ला प्रशासन कार्यालयको प्रतीक्षालय वरिपरि धेरै वृद्धवृद्धा बसेको देखिन्छन् । कसैलाई पिठ्युमा बोकेरै ल्याएको देखिन्छ भने कोही लौरोको सहाराले हिँडिरहेका देखिन्छन् ।
यसरी जिल्ला प्रशासनमा घुइँचो लाग्नुको कारण हो सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र बनाउनु । सरकारले यहीँ साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि वृद्धवृद्धा, अपाङ्गगता भएका व्यक्ति कष्ट बेहोर्दै जिल्ला प्रशासन धाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भेटिएका महाकाली नगरपालिका–३ का ७० वर्षीया गौरादेवी भट्ट शारीरिक रुपमा पूर्ण अशक्त छन् । कम्मरमा अप्रेशन गरेको हड्डी अझै ठडिएको छैन् । अप्रेशन गरेको झण्डै १० वर्षपछि मात्रै उनलाई घरबाहिर ल्याइएको हो । हिड्डुल गर्न नसकेको वर्षौ भइसकेको छ ।


योभन्दा पहिलेका वर्ष आफूसँग भएका कागजात र नागरिकताको आधारमा भत्ता पाइरहेका उनले राष्ट्रिय परिचयपत्र भने बनाउनु भएको थिएन् । हिँडडुल गर्न नसक्ने, घरमै अर्काको सहारामा मात्रै आवतजावत गर्दै आएका उनलाई साउन १ गतेबाट सामाजिक सुरक्षाको लागि नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि गाडी खोजेर प्रशासनसम्म आएको उनका आफन्त चन्द्रा भट्टले सुनाइन् । ‘जीउ सिधा नहुने, कुर्सीमा समेत बस्न नसक्ने अवस्थामा बल्लतल्ल परिचयपत्र बनाइयो ।’


चन्द्रा भन्छिन, ‘ज्येष्ठ नागरिकलाई सरकारले सुविधाभन्दा अझ पीडा दिएको अनुभव हुँदैछ,’ गर्मीयाममा बृद्धबृद्धाहरुलाई प्रशासनसम्म ल्याउनुपरेको छ । शारीरिक रुपमा अशक्त बनेका ज्येष्ठ नागरिकले परिचयपत्र बनाउन यहाँ पुग्नै मुस्किल भइरहेको छ ।
महाकाल्ी नगरपालिका–९ का ८२ वर्षीया ठुमादेवी नगारी राष्ट्रिय परिचयपत्र बनाउन लौरो टेक्दै जिल्ला प्रशासन कार्यालय पुगिन् । एक घण्टा गाडीको यात्रा गरि प्रशासन पुगेका नगारीले भनिन, ‘बुढेसकालमा यहाँसम्म आउन निकै कष्ट भयो । भत्ता बुझ्न पनि उस्तै धौंधौ छ । अहिले त परिचयपत्र मागेपछि झन गाह«ो भयो ।’


छोरी भागरथीलाई संगै लिएर आएका नगारी भन्छिन्, ‘मर्ने बेलामा सरकारले के के खोज्छ ?’ भत्ता बुझ्न पनि छोरीलाई बैंक पठाउने गरिएको छ । प्रशासनमा आफै आउनुपर्छ भनेपछि सकि नसकि आएको हुँ ।
महाकाली नगरपालिका–३ का ८२ वर्षीया हिरादेवी भट्टले जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेकै कारण राष्ट्रिय परिचयपत्र बनाउन नसकेको उनको बुहारी सुशिला भट्टले बताइन् । झुस्कुबाट खलंगा ल्याउन सडक कच्ची बाटो छ । पूरै बोकेर मात्रै वरपर गर्नुपर्छ । गाडीमा ल्याउन समेत मुस्किल भएका कारण बरु सामाजिक भत्ता नै छुटोस् भनेर प्रशासन ल्याउन नसकेको सुशिलाले गुनासो गरिन् ।


‘राम्ररी हिँडडुल गर्न पनि नसक्ने भइसकेँ, बिरामी पनि छन् । अपांगता भएका व्यक्ति झन गाडीमा ल्याएर पनि झन कस्टकर हुने अवस्था छ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिलाई सरकारले गाउँमै पुगेर सेवा दिनुपर्छ ।’
वडा कार्यालयमै राष्ट्रिय परिचयपत्रको काम भए आफूहरुले यति धेरै सास्ती खेप्नु नपर्ने ज्येष्ठ नागरिकको भनाइ छ । जिल्ला भित्रै पनि टाढादेखि धाएर आउनपर्ने अशक्त ज्येष्ठ नागरिकले परिचयपत्र बनाउन निकै कष्ट बेहोर्नुपर्ने अवस्था छ ।
सामाजिक सुरक्षा भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम क्षेत्रबाट समेत बृद्धबृद्धाहरु प्रशासन सम्म पुग्ने गरेका छन् । अझै पनि दुर्गम गाउँमा अधिकांशले राष्ट्रिय परिचयपत्र पाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीले बताए । भौगोलिक विकटताले धेरै वृद्धवृद्धा सदरमुकामसम्म आउन सक्ने अवस्थामा छैनन् ।
‘नागरिकता गाउँघरमै पुगेर पनि वितरण गरिएको छ,’ सहायक प्रजिअ धामीले भने, ‘तर राष्ट्रिय परिचयपत्रको लागि कम्प्युटर क्यामरा लगायतका सबै सामाग्री बोक्नुपर्ने, विद्युत र इन्टरनेट पहुँच आवश्यक भएको हुँदा वितरण गर्न सकिएको छैन् ।’
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्षमा जिल्लाभरि ३ हजार ६७ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने नौ हजार ७६१ जनाले राष्ट्रिय परिचयपत्र पाउन दर्ता गराएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार