सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगिक क्याम्पसमा समायाेजन गरिदिन प्रधानमन्त्रीलाई माग

काठमाडौं — सुदूरपश्चिम प्रदेशका १३ सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालकोट पुगेर औपचारिकरूपमा माग पत्र बुझाएकाे हाे।
पत्रमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२।०८३ मा आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ ।


ध्यानाकर्षण पत्रमा शिक्षा विकासलाई प्रदेशको दीर्घकालीन आर्थिक आत्मनिर्भरता र समाज परिवर्तनको आधार मानिएको छ । “सत्यसित नलड्ने र शक्तिसित नझुक्ने“ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइँसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना, र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने दाबी गरिएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सोही अनुसार क्याम्पस समायोजनको प्रक्रिया पनि तत्काल अगाडि बढाउन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।
२०७८ साल भदौ १० मा प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको निर्णयअनुसार समायोजन प्रक्रिया अघि बढेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले ४१८ वटा दरबन्दीको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार