देउडा मञ्चमा चम्किएकी अछामी छोरी निरुता

चुल्ठिमा रिबनको डोरी मुन्टा लाउन्या काटा
आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा….’
रेडियोमा देउडा कार्यक्रम चलाउने क्रममा श्रोतासँग दोहोरी खेल्दै आएकी निरुता खत्री आज चर्चित देउडा गायिकाका रूपमा स्थापित छिन् । अछामको ढकारी गाउँपालिका–२ की निरुता कुनै समय रेडियो आरजे थिइन्, आज उनले देउडा गायनमै आफ्नो पहिचान बनाएकी छिन् ।
एसएलसी पछि अछाममै सञ्चालित एक साताको आधारभूत पत्रकारिता तालिमपछि उनी रेडियोमा काम गर्न पुगिन् । ‘रेडियोका लागि चाहिने आवाज मसँग थियो, त्यसैले छनोट भएँ,’ उनी सम्झिन्छिन् । रेडियोमा काम गर्दै गर्दा उनले चर्चित सोसाइटी एफएम अछाम र डोटी एफ एम डोटीमा आरेज बनेर श्रोतासँग देउँडा खेलिन् । त्यहि देउँडा खेल्दा खेल्दै कति बेला देउडा गायिकाको रुपमा परिणत भइसके छु, उनले बिगत सम्झिइन् ।
त्यही दिनबाट सुरु भयो उनको रेडियोजीवन । कार्यक्रम सञ्चालन गर्दै गर्दा देउडाप्रतिको मोह बढ्दै गयो । अछामी भाषामै कार्यक्रम चलाउँदा देउडा दोहोरी खेल्ने क्रममा उनी गायनतिर तानिइन् । श्रोतासँग प्रत्यक्ष गाउँदै गर्दा आफुलाई पनि देउडा गीत गर्न सक्छु भन्ने उनको विश्वास बढ्दै गयो ।


रेडियोमै काम गर्दागर्दै उनले एकसाता विदा लिएर काठमाण्डौं होमिइन् । काठमाडौं पुगेपछि अछामका कलाकारहरूसँग मिलेर पहिलो गीत रेकर्ड गरिन् । ‘एक हप्ताको बिदामा गीत रेकर्ड गर्न गएकी थिएँ, त्यसपछि गायनमै व्यस्त हुन थालेँ’, उनी भन्छिन् ।
रेडियोमा गीत गाउन थालेपछि आफूलाई देउडा गायिकाको रूपमा चिनाउन पाएकी निरुता अहिले एफएमको स्टुडियोभन्दा स्टेजमा रमाउन थालेकी छिन् । एफएम छोडेको दशक हुन थाल्यो । अहिले देश तथा विदेशका स्टेज र गीत रेकर्डिङ स्टुडियोमा उनको दिनचर्या बित्दैछ । उनको सबैभन्दा चर्चित गीत हो, परदेश मेरो भाग…….
“परदेशी हुँ, परदेशै छु…“ गीतले दिल जित्यो, मन जोड्यो
उनको सबैभन्दा चर्चित गीत हो ः
“जा घरको समाचार लैया, माल जान्या काग
परदेशी हुँ, परदेशै छु, परदेश मेरा भाग…”

देशबाहिर पुगेका सुदूरपश्चिमेली र कर्णालीवासीका मन छुने यी हरफले उनलाई देउडा गायिकाका रूपमा देश–विदेशमा चिनाए । ‘यस्तै गीतका टुक्काहरुले मलाई धेरैले सम्झिए । मैले आफुलाई अरु सामु चिनाउने मौका पाए । देउडा गीतले मलाई देश–विदेशमा चिनायो,’ उनले भनिन्, ‘मान्छेको मन जोड्ने, पीडा पोख्ने शब्दहरू भएकाले धेरैले रुचाइदिनुभयो ।’
‘धन भन्नु हातको मैल ज्यान गए का पाउला
एकै रोटो आधा खाउला सङ्गै पिरती लाउँला’

निरुताले हालसम्म ५०० भन्दा बढी देउडा गीतमा स्वर दिइसकेकी छन् । कतार, कोरिया, दुवई, भारतजस्ता देशका स्टेजमा उनले आफ्ना प्रस्तुती दिइसकेकी छन् । उनले राष्ट्रियस्तरका विभिन्न अवार्ड, सुप अवार्ड पनि जितेकी छन् । उनलाई आफुले पाएको यो माया सम्मान देउडाकै कारण भएको बताउँछिन् ।
‘देउडालाई माया गर्ने जमात अहिले पनि छ,’ उनी भन्छिन्, ‘हामीले तिनीहरूका मन छोने गीत बनाउने हो भने देउडाको सम्भावना अझै बढ्छ ।’ उनको बुझाइमा, पुराना गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दा देउडामा युवाको आकर्षण बढेको छ । अहिले पनि सुदूर पहाड होस् या कर्णालीका वनपाखा देउडाको गीतको माग बढ्दो छ । शहरीया जमात पनि अहिले देउडासँग परिचित छ । मात्र हामीले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।


सामान्य परिवारमा जन्मेकी निरुताको बाल्यकाल अभावमै बित्यो । ८ कक्षा पढ्दै गर्दा आमालाई पक्षाघात भएपछि घरको जिम्मेवारी उनको काँधमा आयो । ‘आमाको अभाव मेट्न अहिले पनि काठमाडौंमा बसेर गीत लेख्ने, स्वर दिने काम गर्दै आएकी छु,’ उनी भन्छिन् । मैले आफ्नो लागि गरेको प्रयासकै कारण अहिले मैले यो सांगतिक क्षेत्रमा जम्न पाएकी छु ।
२८ वर्षीया निरुता खत्रीजस्ता युवाको योगदानले देउडा संगीतको क्षेत्र फराकिलो बन्दै गएको छ । रेडियोबाट सुरु भएको यात्रा आज देउडाका माध्यमबाट अन्तर्राष्ट्रिय पहिचानसम्म पुगेको छ । निरुताको कथा देउडामात्र हैन, संघर्षलाई संगीतमा रूपान्तरण गर्ने प्रेरणाको पनि कथा हो ।

सम्बन्धित समाचार

ताजा समाचार