दार्चुला । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा दार्चुलाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा प्रथम साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक वर्षको आय–व्यय विवरण, बजेट तथा आगामी वर्षको नीति तथा कार्यक्रमहरू पारित गरिएको छ । त्यस्तै साधारणसभाबाट सामुदायिक विद्यालयहरूमा आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहहरूसँग सहकार्यमा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने लगायतका निर्णय गरिएको नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य भुवन डागाले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको लेकम गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकामा विशेषज्ञ चिकित्सक सहितको विशेष आँखा शिविर सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । समुदायमा आँखा स्वास्थ्यप्रति चेतना फैलाउन स्थानीय तह, विद्यालय र नागरिक समाजको संयुक्त भूमिकाको आवश्यकता औंल्याउँदै संघका कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उहाँको जोड छ ।

नेपाल नेत्र ज्योति संघका सभापति दीपक प्रसाद अवस्थीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य भुवन डागाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संघका जिल्ला कार्यसमिति पदाधिकारीहरू, सदस्यहरू तथा आजीवन सदस्यहरू लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
