दार्चुलामा लागूऔषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी मनाइयो (फाेटाे फिचरसहित)

लागूऔषध दुरुपयोग एवं ओसारपासरविरुद्धको अन्तर्राष्ट्रिय दिवस दार्चुलामा साताव्यापी जनचेतनामूलक कार्यक्रमसहित बिहीबार समापन गरिएको छ । ‘स्वस्थ जीवनका लागि लागूपदार्थमुक्त समाज’ भन्ने मूल नाराका साथ असार ५ गतेदेखि शुरु भएको अभियान असार १२ गते प्रभातफेरी र ¥यालीमार्फत औपचारिक रूपमा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लागूपदार्थ विरुद्धको अभियान घर–घरबाटै थाल्नुपर्नेमा जोड दिए । ‘लागूपदार्थसम्बन्धी चेतना समाजको मूल इकाइ—घरपरिवारबाटै सुरु हुनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले पनि विकास निर्माणसँगै चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै निरन्तरता दिनुपर्छ ।’ साताव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी संघ, औषधि व्यवसायी लगायत सँग अन्तरक्रिया कार्यक्रम गरेको जनाएको छ ।


जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप)ले यस्तो अभियानले स्वस्थ, सचेत र जिम्मेवार समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘स्थानीयको सक्रिय सहभागिताले अभियान अझ प्रभावकारी भएको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जान आवश्यक छ ।’ यो कार्यक्रममा सबैको सहभागिताले खुसी बनाएको छ ।


महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले नगरपालिकाले प्रत्येक वर्ष विद्यालयस्तर तथा समुदायस्तरमा लागूपदार्थ विरुद्ध कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् । ‘हामी सामुदायिक विद्यालयहरूमा पुगेर प्रत्यक्ष रुपमा कानुनी सचेतना कार्यक्रम गरिरहेका छौ’ उनले भनिन, ‘अब यो अभियानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक छ ।’
लागूऔषध सप्ताहव्यापी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमार्फत विद्यालय तह, सार्वजनिक स्थानमा लागूऔषधबारे कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । प्रहरीले सकेसम्म सबै वडा तहसम्मै पुग्ने प्रयास गरेको छ ।
पछिल्लो समय जिल्लामा लागूऔषधका मुद्धा बढ्दै गएपछि प्रहरीले सक्रियतापूर्वक अभियान सञ्चालन गरेको छ । भारतसँग सीमा जोडिएको कारण भारतबाट अवैधरुपमा लागूऔषध भित्रिने गरेको छ । चालू आर्थिक वर्षमा लागूऔषधका १२ मुद्धा दर्ता भएकोमा २५ जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना तथा विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा प्रभातफेरी र ¥याली सञ्चालन गरिएको थियो । सदरमुकाम खलंगामा भएको ¥यालीमा सरकारी तथा सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, महिला समूह तथा स्थानियवासीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार