मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२।०८३ को लागि ६३ करोड ८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबार गाउँसभाको १४ औँ अधिवेशनमा गाउँपालिका प्रवक्ता मदनबहादुर चन्दले बजेट सार्वजनिक गर्नुभएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ७१ लाख, राजस्व बाँडफाँड अन्तर्गत ७ करोड ७४ लाख, सशर्त अनुदानतर्फ २५ करोड ४२ लाख रुपैयाँ, सामाजिक सुरक्षा अनुदानतर्फ ७ करोड ९९ लाख, समपुरक अनुदानतर्फ २ करोड ९६ लाख र विशेष अनुदानतर्फ ३ करोड ३२ लाख गरी कुल ५८ करोड १४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड १ लाख ८० हजार, सवारी साधन कर तथा राजस्व बाँडफाँडतर्फ २१ लाख ९० हजार, समपुरक अनुदानतर्फ १ करोड ५१ लाख, विशेष अनुदानतर्फ ७५ लाख र सर्शत अनुदानतर्फ ८५ लाख गरी कुल ४ करोड ३४ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको छ ।
यस्तै गाउँपालिकाको आन्तरिक राजस्वतर्फ ३० लाख तथा गत वर्षको नगद मौज्दात ३० लाख रहने अनुमान गरिएको छ ।
गाउँपालिकाले शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिदै बजेट ल्याएको हो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटअनुसार शैक्षिक विकास तथा गुणस्तर सुधार कार्यक्रम सञ्चालनको लागि १ करोड ६१ लाख, फर्निचर, शौचालय, खानेपानी, भवन मर्मत सम्भारमा २५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कम्प्युटर डिजिटिल बोर्ड र फाइवर लाइन विस्तारका लागि २५ लाख रुपैयाँ, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको न्यूनतम पारमिकको लागि ८१ लाख २६ हजार बजेट विनियोजन गरिएको छ ।
पालिकाको पूर्वाधार विकासतर्फ प्रशासकीय भवन क्रमागत योजनामा सहलगानी गर्न ३ करोड १८ लाख, ऐरीछाना डाडाकोट बाँकु सडक निर्माणमा सहलगानीमा १ करोड ६६ लाख, चाडी मौपानी सेलिचामा धामीगडा सडक निर्माणमा सहलगानी १ करोड ३४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै जोलजीवि शंकरपुर सडक निर्मँण योजनामा सहलगानीमा ४६ लाख ८० हजार, सेलिचामा विद्यालय भवन क्रमागत योजनामा १ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । पालिकाका विभिन्न समपुरक कोष अन्तर्गत २ करोड ५० लाख रुपैयाँ, तथा पूजीगततर्फ ८ ओटै वडामा साना पूर्वाधार योजना निर्माणका लागि ६४ लाख तथा वडा कार्यालय सञ्चालनतर्फ १६ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।
