दार्चुलामा ब्लड बैंक स्थापना सहयोगार्थ रकम संकलन

प्रमुख जिल्ला अधिकारीबाट रेडक्रसलाई पाँच लाख बढी सहयोग हस्तान्तरण
दार्चुला — जिल्लामा अत्यावश्यक रक्त सेवा सुविधा उपलब्ध गराउन दार्चुलामा ब्लड बैंक स्थापना गर्न सहयोग रकम संकलन भइरहेको छ । ब्लड बैंक नहुँदा अस्पतालमा आउने विरामीलाई समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको पहलमा कर्मचारी, सुरक्षाकर्मीबाट रकम संकलन भएको हो ।
सुरक्षाकर्मी र कर्मचारीबाट संकलन गरिएको कुल ५ लाख २ हजार ८८१ रुपैयाँ सोमबार प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल रेडक्रस सोसाइटी दार्चुलालाई हस्तान्तरण गरेका छन् । रेडक्रस दार्चुलाका सभापति गोपालसिह महरलाई रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), महाकाली नगर प्रमुख नरसिह चैसिरको समेत सहभागिता थियो ।
जिल्ला अस्पताल दार्चुलामा आउने अधिकांश विरामीलाई रगत चाहिँदा सुरक्षाकर्मीलाई धाउनुपर्ने बाध्यता देखेपछि ब्लड बैंक स्थापना सहयोगार्थ रकम संकलन गरिएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्वतस्र्फुत गरिएको छ । यो अभियानलाई निरन्तरता दिदैं ब्लड बैंक सञ्चालन भएको हेर्न चाहन्छौं ।’
ब्लड बैंक स्थापना सहयोगार्थ रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख बडूले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढि जनप्रतिनिधिलाई आफुले सहयोगको लागि आह्वान गर्ने बताए । उनले भने, ‘अहिलेसम्मकै यो पुञ्य काम हो । छिट्टै जिल्ला सभा हुँदैछ, । प्रस्तावकै रुपमा लगेर यो अभियानलाई आफुले सक्ने सहयोग गर्न तयार छौ ।’
महाकाली नगर प्रमुख नरसिह चैसिरले जिल्लाको लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको बताए । ‘यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैंक स्थापनार्थ बजेट खोज्छौं ।’ उनले भने । जिल्ला अस्पतालको लागि यो नभई नहुने थियो, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकोमा धन्यवाद दिदै नगर प्रमुख चैसिरले भने, ‘यो काम पूरा गराउने काम हामी गर्छौ ।’
जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ जिल्लामा ब्लड बंैंक जरुरी भएको बताउँछन् । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाको लागि आवश्यक रहेको बताए ।
यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामाग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउँछन् । ‘राम्रो ब्लड बैंक स्थापना गर्न बजेट सुनिश्चितता कहिबाट भएको छैन् । श्रोत भयो भने राम्रै बनाउनुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार