दार्चुलामा मानव अधिकारको अवस्थाबारे अर्धबार्षिक समीक्षा

इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ को पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्लामा २०२५ जनवरी देखि जुनसम्म संकलन गरिएका घट्नाहरु तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे समीक्षा भएको हो ।
इन्सेकका जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लंघनका घटनाबारे प्रस्तुती राखेका थिए । कार्कीका अनुसार सो अवधिमा इन्सेकले २२ वटा घरेलु हिंसा, १ बाल अधिकार तथा २ वटा स्वास्थ्य अधिकार उल्लंघन सम्बन्धी घटनाहरू अभिलेख गरेको जानकारी दिए । यस्तै शिक्षा, स्वास्थ्य, वातावरणीय अधिकार, सामाजिक सुरक्षा, पुर्नस्थापनाका विषय कार्यपत्रमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले इन्सेकले संकलन गरेको घट्नाले जिल्लाको चित्र देखाएको बताए । ‘यो प्रतिवेदनले जिल्लाको समग्र चित्र देखाउँछ,’ उनले भने, संकलन गरिएका घट्नाहरु यर्थाथपरक छन् । राज्यले कार्यान्वयन गर्ने कुरामा जिम्मेवार छौं ।
कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले अहिले संकलन गरिएका घट्नामाथि सरोकारवालाको धारणा लिएर पुर्नपुष्ठि गर्ने कार्य सराहनीय रहेको भन्दै थप विषयहरु पनि समेट्न सुझाव दिए ।
नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले महिलाहरुको मानव अधिकार, तथा आर्थिक अवस्थाबारे स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय गम्भीर हुनुपर्ने बताए ।
महिला मानव अधिकारकर्मी हिरा अवस्थीले महिलामाथि हुने विभेदका घट्नाहरु कमी आउन नसकेको बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति देवराज जोशी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत गोबिन्द प्रसाद पाण्डेय, जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख बिरेन्द्र प्रसाद भट्, रेडक्रस दार्चुलाका सभापति गोपालसिह महर, पत्रकार महासंघका अध्यक्ष राजेन्द्रसिह धामी, नागरिक समाज दार्चुलाका संयोजक महेशराज भट्ट, नेपाल बार इकाइका अधिवक्ता हरिशचन्द्र जोशी लगायत महिला अधिकारकर्मी पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसैबीच इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले इन्सकेको समीक्षा कार्यक्रमको खाजा खर्चबाफतको २ हजार ५ रुपैयाँ ब्लड बैंक स्थापनाको लागि सहयोग भन्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई हस्तान्तरण गरेका छन् । प्रजिअ पौडेलले जिल्लामा ब्लड बैंक स्थापनाको लागि कर्मचारीमार्फत अहिले रकम संकलन अभियान सञ्चालन गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार