हरेक वर्ष खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ लगायतका उर्जाजन्य वस्तु आयातमा अर्बौं रुपैयाँ विदेशिने गरेको छ । यस्तो अवस्थामा नेपालमै मिथेन जस्तो उर्जाको स्रोत फेला पर्नु आशाको सङ्केत हो । चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम सर्वेक्षण अन्तर्गतको परियोजनाबाट मिथेन ग्यास रहेको पत्ता लागेको हो ।

चीनको भूगर्भिक संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीको सहकार्यमा गरिएको ड्रिलिङपछि यो क्षेत्रबाट झन्डै एक सय १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, यो अहिलेसम्म अनुमानकै चरणमा छ र अन्तिम प्रतिवेदन सन् २०२५ को अन्त्यसम्म अर्थात् आउँदो पुष–माघसम्म आउने अपेक्षा गरिएको छ । मिथेन ग्यास एउटा स्वच्छ र उच्च उर्जा दिने प्राकृतिक ग्यास हो, जुन मुख्यतया खाना पकाउने, उद्योग सञ्चालन गर्ने र गाडी चलाउने प्रयोजनमा प्रयोग गरिन्छ । घरायसी प्रयोगका लागि एलपी ग्यास जस्तै मिथेन पनि प्रयोग गर्न सकिन्छ । यसको विशेषता भनेको यो अन्य ग्यासहरूभन्दा सजिलै खुम्च्याउन सकिने र बोक्न सकिने खालको हो । आज विश्वका धेरै देशहरू जस्तै– भारत, अमेरिका, चीन लगायतले मिथेनलाई इन्धनको मुख्य स्रोतको रूपमा उपयोग गरेका छन् ।

पाइपलाइनमार्फत घरघरमा पुर्याउन तथा ग्यासबाट चल्ने गाडीमा र उद्योग कलकारखानामा प्रयोग गर्न सकिने भएकाले ती देशहरू उर्जामा आत्मनिर्भरसँगै आर्थिक रूपमा पनि सबल बन्दै गएका छन् । नेपालले पनि यस्तै खालको प्रविधि अपनाउन सकेमा, दैलेखको मिथेन ग्यास आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । प्रारम्भिक प्रतिवेदनले सकारात्मक सङ्केत देखाए पनि यो अझै वैज्ञानिक परीक्षण र गुणस्तर मापनको प्रक्रियामा छ । अन्तिम प्रतिवेदनले मात्र ग्यासको मात्रा, गुणस्तर, प्रयोगको तरिका र उत्खननको लागतबारे स्पष्ट जानकारी दिनेछ ।

ग्यास उत्खनन सजिलो प्रक्रिया होइन । कुनै ठाउँमा ड्रिलिङ गरेपछि मात्र ग्यास वा अन्य खनिज वस्तु भेटिन्छ कि भेटिन्न भन्ने निश्चित हुँदैन । यो प्रक्रिया खर्चिलो, जोखिमयुक्त र लामो समय लाग्ने खालको हुन्छ । नेपालजस्तो भूपरिवेष्ठित र भौगोलिक दृष्टिले जटिल देशमा यस्ता अन्वेषणहरू अझ चुनौतीपूर्ण हुने गर्छन् । तर, यस्ता जोखिमहरूका बाबजुद पनि मिथेन ग्यासको सफल उपयोगले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने ठूलो अवसर छ । पछिल्ला वर्षहरूमा नेपालले मात्र खाना पकाउने ग्यास आयातमै वार्षिक अर्बौं रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । यदि देशमै पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न सक्ने भयो भने यस्तो आयात घटाएर विदेशी पैसा जोगाउन सकिन्छ । ग्यासको उत्खनन तथा प्रयोगको क्रममा केही हदसम्म वातावरणीय असर पर्न सक्ने सम्भावना रहन्छ ।
जमिन भित्रबाट उत्खनन गरिने भएकाले माटो, पानी र आसपासको वातावरणमा प्रभाव पर्न सक्छ । तर अहिलेको प्रविधिले यस्तो असरलाई कम गर्न सकिने बताइन्छ । विकसित देशहरूले प्रविधिको बढीभन्दा बढी उपयोग गरेर प्राकृतिक स्रोतहरूको सदुपयोग गरी आर्थिक समृद्धि हासिल गरेका छन् । नेपालले पनि त्यस्तै सोच, योजना र व्यवस्थापनसहित अघि बढेमा यस्ता प्राकृतिक स्रोतहरूले आर्थिक समृद्धिको ढोका खोल्न सक्छन् । दैलेखमा फेला परेको मिथेन ग्यास नेपालको उर्जा क्षेत्रको लागि एक ऐतिहासिक उपलब्धि बन्ने सम्भावना बोकेको छ । यदि यसलाई वैज्ञानिक ढङ्गले पुष्टि गरी व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सकियो भने यो केवल दैलेख मात्र होइन, सम्पूर्ण देशको आर्थिक समृद्धिको मेरुदण्ड बन्न सक्छ । ग्यास उत्खनन र प्रयोगमा दीर्घकालीन योजना, वातावरणीय सन्तुलन, प्रविधि हस्तान्तरण र सही लगानीको आवश्यकता हुन्छ । सरकार, निजी क्षेत्र, र आम नागरिकको साझा पहलले यसलाई आर्थिक विकासको आधार बनाउन सम्भव छ ।