लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान

दार्चुला । डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी बढ्दै गएपछि सो अभियान थालिएको हो। महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार देखि उक्त अभियान थालिएको हो ।

लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फर्सवानले जानकारी दिए ।

डेङ्गी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख फर्सवानले बताए ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण फैलिने गरेको स्वास्थ्य शाखा प्रमुख फर्सवानले बताए ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन्। जटिल प्रकृतिको डेङ्गीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार