कञ्चनपुर । कञ्चनपुरमा तीन जनामाथि धारिलो हतियार प्रहार गरिएको छ। जिल्लाको पुनर्वासमा एक जनाले धारिलो हतियार प्रहार गरी तीन जना घाइते बनाएका हुन्। कञ्चनपुर प्रहरीले शुक्रवार राति पुनर्वास–६ मनकामना टोलमा राजु सुनारले तीन जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका बताएको छ। राजुले मदिरा सेवन गरी सोही ठाउँका गोविन्द सुनारसँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग गरेका हुन्। उनले गोविन्द सुनारसहित तीन जनालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले बताएको छ। इटा र चक्कु जस्तो धारिलो हतियार प्रयोग गरी स्थानीय सुनिता सुनारको निधार र मुखमा चोट लागेको छ। यस्तै सुशीला सुनारको टाउकोमा तथा गोविन्द सुनारको निधार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको छ। घटना लगत्तै कुटपिटमा संलग्न राजु सुनार फरार भएका छन्। उनलाई खोजी गर्न प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमाण्डमा ७ जना प्रहरीको टोली खटिएको छ।
