महाकाली नगरपालिकामा विपद् स्वयंसेवक तालिम सम्पन्न, विपद् जोखिमलाई मध्यनजर गर्दै तयारी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न गरेको छ । सक्रिय हुँदै गएको मनसुन सँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले विपद् स्वयमसेवक आधारभुत तालिम दिएको हो ।
महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हे.क्वा. दार्चुलाको सहकार्यमा १८ दिने विपद स्वयमसेवक तालिम सञ्चालन गरिएको थियो । जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिम आज एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
तालिममा नगरपालिकाका ९ वटै वडाबाट २–२ जना, नगर प्रहरीका ५ जना तथा विपद् व्यवस्थापन शाखाबाट २ जना गरी २५ जना सहभागी भएका थिए ।
तालिमको प्रशिक्षण सशस्त्र प्रहरी निरीक्षक दीपकराज बडुको नेतृत्वमा ६ जनाले दिएको महाकाली नगरपालिका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र सिह ठगुन्नाले जानकारी दिए । महाकाली नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा योजनाबद्ध ढंगले काम गर्दै आएको जनाएको छ । जलवायु उत्थानशील तथा विपद् व्यवस्थापन योजना समेत तयार पारेर कार्यान्वयनको चरणमा पुगेको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ठगुन्नाले बताए ।
उहाँका अनुसार नगरभित्र रहेका जोखिमयुक्त बस्तीहरूको पहिचान गरिसकिएको र जोखिम नक्साङ्कन समेत सम्पन्न गरेकाले बाढी, पहिरो लगायतका प्राकृतिक विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्रीहरु तयारी अवस्थामा राखिएको तथा उच्च सतर्कता अपनाइएको ठगुन्नाको भनाई छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत २०८१ को पाठ्यक्रम अनुसार सञ्चालन गरिएको थियो ।
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा नगर प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हे क्वा. दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशी, नेपाली सेनाको श्रीदल गुल्म दार्चुलाका गुल्मपति उत्तम खड्का, महाकाली नगरपालिकाका प्रवत्ता शंकर डोबाल, विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार