यार्सागुम्बा संकलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय २० दिनका लागि बन्द

यार्सागुम्बा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि विद्यालय बन्द भएका हुन् ।
यार्सा संकलनको सिजन सुरु भएकाले जेठ ४ गतेबाटै पालिकाभरिका विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत बिरेन्द्र साउँदले जानकारी दिए । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले २० दिनको लागि विद्यालय बन्द गरिएको उनले बताए । विद्यालय जेठ २४ गते खुला हुनेछ । बर्खेबाट विदा मिलान गर्ने गरी अहिले विद्यालय बन्द गरिएको छ ।
जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरीका २४ वटा सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।
‘यार्सागुम्बा संकलन नहुने भने केटाकेटी कसरी पढाउनु,’ अपिहिमाल गाउँपालिका–२ का स्थानीय गगनसिह लोथ्यालले भने, ‘वर्षभरिको कमाइ यहि यार्सागुम्बा हो । यार्सागुम्बा संकलनमा बालबालिका नलिने हो भने के खानु ? कसरी पढाई खर्च धान्नु ।’ अन्न उत्पादन कम हुने भएकोले स्थानीयले जेठ–असारमा संकलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् ।
यहाँका स्थानीयले दुई दशक बढि समय भयो यार्सागुम्बा खोज्न थालेको । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रो सँग खान पुग्दैन्, लोथ्याल भन्छन्, अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा संकलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ ।
अभिभावक भन्दा पनि हिमाली जडिबुटी यार्सागुम्बा बालबालिकाले बढि भेट्टाउछन् । यार्सागुम्बा संकलन खोज्न निकै कष्टकर हुने भए पनि जिविका चलाउनको लागि यसैको भरपर्ने यहाँको स्थानीयको बाध्यता छ ।
यार्सागुम्बा संकलनकै लागि काठमाण्डौं धनगढी दार्चुला सदरमुकाम खलंगामा अध्ययन गर्न गएका विद्यार्थी समेत यार्सागुम्बा संकलन हुने क्षेत्र पाटन पुगेका छन् । काठमाण्डौंमा अध्ययन गर्दै आएका जय धामीले भने, ‘यार्सागुम्बा संकलनको लागि वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यार्सागुम्बा खोजेर फेरि काठमाण्डौं फर्किन्छौं ।’ अहिले धरमघरमा यार्सागुम्बा संकलन गर्न गएका धामी दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउनुुहुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ । ‘यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैं धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यहाँका स्थानीय बैशाख अन्तिम यार्सागुम्बा संकलनका लागि पाटन गइसकेका छन् ।
यार्सागुम्बा खोजेरै वर्षभरी घरखर्च, बालबच्चा पढाउनका लागि जोहो गर्छन् । ‘छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत नै यार्सागुम्बा हो । थोरै समयको दुःखले वर्षभरीको गर्जो त टर्छ । कहिलेकाहिँ ज्याने जाने जोखिम पनि हुन्छ ।’
वर्षमा दुई बाली मात्र हुने अपिहिमालका खेतबाट उत्पादित अन्नले वर्षभरी पुग्दैन । घरमा जागिर नहुनेका लागि दुईवटा विकल्प मात्र रहन्छ ।
यो वर्ष मौसम खराब देखिएकोले संकलकहरु थोरै त्रासमा छन् । पटकटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा संकलन गर्नुपरेको यार्सागुम्बा संकलक मानसिह धामी बताउँछन् । घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश अपिका गाउँ रित्ता भएका छन् ।
१२ वर्षदेखि ५० वर्षसम्मका सबै मानिसहरु पाटनमा जाने गर्छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका,व्याँस गाउँपालिका बासिन्दा लेक उक्लिएका छन् ।
जिल्लाको सबैभन्दा बढि यार्सागुम्बा संकलनको लागि अपिहिमालको अपीहिमालको लोलु, रिङ्देपानी, सतगंगा कालीढुंगा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगंगा, चाइमटेला लगायतका क्षेत्रमा हजारौं संख्यामा संकलक पुगेका छन् । यस्तै व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवन लगायतका ठाउँमा यार्सागुम्बा संकलन हुने गर्छ ।
जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनको लागि हरेकवर्ष अनुमति पत्र जारी गर्ने गर्छ । कार्यालयले जिल्लाका दश वटा ठाउँबाट संकलन अनुमति पत्र जारी गरिरहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत विनय कुमार झाले बताए । सबैले अनिवार्य रुपमा परिचय पत्र लिएरै मात्रै संकलन गर्नुपर्ने कानुनी प्रावधान छ । जिल्लाबाट हरेक वर्ष ५ देखि ७ कुण्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार