हावाहुरीले दार्चुलाका दर्जन विद्यालयमा क्षति, पठनपाठनमा समस्या

दार्चुलामा हावाहुरीका कारण एक दर्जन विद्यालयमा क्षति पुगेको छ । गत सोमबार भिषण हावाहुरीका कारण मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका दर्जन विद्यालयमा क्षति पुगेको हो ।
विद्यालय भवनमा क्षति हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । मालिकार्जुन गाउँपालिकाका अनुसार वडा नम्बर ४ स्थित खान मावि ऐरिछाना विद्यालयको छानामा क्षति पुगेको छ । सोही वडाको देवधुरा आधारभूत विद्यालय देवधुरामाको विद्यालयको टिन उठाएको छ । जसको कारण विद्यालयको पठनपाठनमा समस्या भएको छ ।


यस्तै वडा नम्बर ५ स्थित सुनशिखर आधारभूत विद्यालय घोडेढुंगाको विद्यालयको भवनको छानामा क्षति पुगेको छ । वडा नम्बर ६ मा रहेको गरडा मावि बाकुको ३ कोठे भवनको छाना हावाहुरीले उडाएको छ । विद्यार्थीको लागि खानेपानी व्यवस्थापन गरिएको तीन वटा ड्रममा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिए ।
‘हावाहुरीका कारण विद्यालयको तीन कोठा सखाप नै भएको छ,’ उनले भने, ‘प्रशासन कक्ष र कम्प्युटर कक्ष पनि जोखिमपूर्ण अवस्थामा छ ।’ विद्यालयमा हाल २ सय बढि विद्यार्थी भर्ना भएका छन् । बगर क्षेत्र भएका कारण यो क्षेत्रमा गर्मी निकै हुन्छ । विद्यालयको संरचना पूरै कच्ची छ ।


विद्यालय भवनको पर्खालमा पलस्तरसमेत नगरिएको हुँदा गर्मीमा कक्षा कोठाभित्रै सर्प पस्ने डर उतिकै छ । जीर्ण संरचनाबारे पटकपटक जानकारी गराए पनि हालसम्म निर्माण नहुँदा शिक्षक विद्यार्थीले जोखिममोलेरै पढनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक गिरीको भनाई छ । अहिले विद्यालयको छाना उडाएका कारण विद्यार्थीलाई रुखको छहारीमा राखेर पढाउनुपर्ने अवस्था आएको छ ।

मालिकार्जुन गाउँपालिकाकै वडा नम्बर ७ मा रहेको परोपकार आधारभूत विद्यालय चौकीको २ कोठे विद्यालय भवनको छाना उडाएको छ । वडा नम्बर ८ मा रहेको बालकल्याण आधारभूत विद्यालय थकतोलीको विद्यालय भवनको छानामा क्षति पुगेको छ ।
यस्तै शैल्यशिखर नगरपालिकाको लटिनाथ आधारभूत विद्यालय तल्चौरा शैल्यशिखर ८ र धर्मदेव आधारभूत विद्यालय शैल्यशिखर ७ को विद्यालय भवनको छाना उडाएको शैल्यशिखर नगरपालिकाका शिक्षा शाखा प्राविधिक सहायक बलदेव भट्टले बताए । बद्रीनाथ मावि बोहरीगाउँको विद्यालयमा विद्यालयको सोलार सिस्टममा क्षति पुगेको छ ।
यसैबीच मालिकार्जुन गाउँपालिकाले असिना वर्षा र हावाहुरीका कारण क्षति भएका विद्यालयको पुर्ननिर्माण मर्मत सम्भारको लागि प्रदेश सरकारलाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष हिरासिह धामीले मुख्यमन्त्री कमलबहादुर शाहलाई मागपत्र बुझाउँदै क्षतिबारे जानकारी गराएका छन् ।


हावाहुरीका कारण ३ विद्यालयको छाना पूर्ण क्षति भएको तथा ५ विद्यालयमा आंशिक क्षति भएको भन्दै राहत पुर्ननिर्माणको लागि आग्रह गरिएको धामीले जानकारी दिए ।
विद्यालयमा क्षति पुगेका कारण विद्यार्थीको पठनपाठन समस्या हुने अवस्था आएपछि प्रदेश सरकारसँग मर्मत र पुर्ननिर्माणको लागि आग्रह गरिएको अध्यक्ष धामीको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार