जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३२ औं स्मृति दिवस शनिबार दार्चुलामा पनि मनाइएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठान, दार्चुलाद्वारा आयोजित स्मृति सभामा नेताद्वयप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको राजनीतिक योगदानबारे अन्तरक्रिया भयो ।
‘नेपालको राजनीतिक परिवर्तनमा जनताको बहुदलीय जनवादको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले नेताद्धयको योगदानको स्मरण मात्रै गरेनन्, खुलेरै चर्चा गरे ।
अन्तरक्रियामा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले, मदन भण्डारीको दृष्टिकोण अद्वितीय रहेको बताए । पूर्वमन्त्री समेत रहेका ठगुन्नाले मदन भण्डारीलाई स्मरण गर्दै भने, ‘उहाँसँग दार्चुला भ्रमणका क्रममा तीन दिन सँगै रहने अवसर पाएको थिएँ ।
उहाँको सादकी जीवनशैली, विचार र दृष्टिकोणले म गहिरो रूपमा प्रभावित भएँ ।’ दार्चुलाको गोकुलेश्वर हुँदै नौगाड र खलंगासम्म यात्रा गर्ने क्रममा उहाँको बिचारको प्रंशसक बने । उहाँको कार्यक्रमको सञ्चालन समेत गर्ने अवसर पाएको भन्दै उनले जबजको प्रयोगकै कारण अहिले लाखौं नागरिकले सामाजिक सुरक्षाबाट लाभान्वित भएको बताए । ‘उहाँ जिउँदै हुनु भएको भए, नेपाली राजनीति फरक दिशामा अघि बढ्थ्यो,’ उनले भने ।


कार्यक्रममा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले भने, ‘हाम्रो विचार र सिद्धान्त व्यवहारमै रूपान्तरण गर्नु अहिलेको आवश्यकता हो । प्रतिस्पर्धाबाटै योग्यता, क्षमता र सक्रियता आधारमा सर्वोत्कृष्टता सम्भव हुन्छ ।’
उनले थपे, ‘हाम्रो जे विचार र सिद्धान्त छ, त्यो विचार र सिद्धान्त अनुसारको जीवन व्यवहारमा परिवर्तन अहिलेको आवश्यक्ता हो । ‘जबजको सर्वोत्कृष्टता भनेको सक्रियता, योग्यता, क्षमतामा भरपर्छ । अब जबजको यो बहस पालिकातहसम्म पु¥याउनुपर्छ,’ उनले भने ।
एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टीभित्रको षड्यन्त्रविरुद्ध एकताबद्ध हुन आह्वान गरे । अहिले देशी तथा विदेशी शक्ति एमाले र एमाले नेतृत्व समाप्त पार्नुपर्छ भन्दै लागेको उल्लेख गर्दै उनले भने, अब एमालेका तमाम कार्यकर्ताले एमालेले गरेका कामलाई जनस्तरसम्म पु¥याउँदै एमाले झनै बलियो बनाउनतर्फ लाग्नुपर्न बताए । ‘जबजको सिद्धान्त तल्लो तहसम्म पु¥याएर पार्टीलाई सही मार्गमा हिँडाउन आवश्यक छ,’ उनले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले मदन भण्डारीले प्रतिवादन गरेको ‘जबज’ सबैको साझा धरोहर रहेको बताए । ‘आजको मितिमा मदन भण्डारीले प्रतिपादन गरेको जबज सिद्धान्त सम्पूर्ण दलद्वारा मान्य भइसकेको छ । कम्युनिस्ट राजनीतिलाई संस्थागत मार्गमा डो¥याउन उहाँको योगदान अतुलनीय छ,’ उनले भने ।
कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य नगेन्द्र तिंकरी, प्रदेश सदस्य हिरासिंह धामी, विभिन्न तहका जनप्रतिनिधि, युवा, विद्यार्थी तथा जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले कार्यक्रममा नेपालको राजनीतिक परिवर्तनमा जनताको बहुदलीय जनबादको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यपत्रमा ‘जबज’ सिद्धान्तको ऐतिहासिक पृष्ठभूमि र वर्तमान सन्दर्भमा चर्चा गरिएको छ ।
वि.सं. २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते स्मृति दिवस मनाउँदै आएको छ ।
