दार्चुलामा लागूऔषधको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला केही वर्षयता लागूऔषध ओसारपसार र सेवनसम्बन्धी मुद्धाहरू ह्वात्तै बढेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म २६ वटा मुद्दामा ४३ जनालाई कारबाही गरिएको छ । यस अवधिमा प्रहरीले ४४ किलोग्रामभन्दा बढी चरेश बरामद गरेको छ ।
प्रहरीका अनुसार २०७९÷८० मा ५ वटा मुद्धा दर्ता र १६ केजी चरेश बरामद गरिएको छ । २०८०÷८१ मा ९ वटा मुद्धा भएकोमा १९ जनाविरुद्ध मुद्धा लगाइएको छ भने २४ केजी चरेश बरादम भएको छ । चालू आर्थिक वर्षको हालसम्म १२ वटा मुद्धा दर्ता भएकोमा २० जना पक्राउ परेका छन् । प्रहरीले ३ केजी २८९ ग्राम चरेश र २ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ ।
डिएसपी दाहालका अनुसार भारतसँगको खुला सीमा भएका कारण कडाइ गरे पनि लागूऔषधको ओसारपसार र दुव्र्यसन नियन्त्रणमा आउन सकेको छैन । उनका अनुसार अहिले पनि धेरै शंकास्पद व्यक्तिमाथि निगरानी राखिएको छ । हालै शैल्यशिखर नगरपालिकामा खैरो हिरोइनसहित केही व्यक्ति पक्राउ परेका छन् । ‘पहिले तराइ क्षेत्रमा मात्रै देखिने खैरो हिरोइन अब दार्चुलामा पनि फैलिन थालेको देखिन्छ’, डिएसपी दाहालले चिन्ता व्यक्त गरे । तपाई हाम्रै वरपर लागूऔषध सेवनकर्ता बढेका छन् । अहिलेको पुस्ता लागूऔषध दुव्र्यसनमा फसेको भन्दै अहिलेदेखि सबै मिलेर न्यूनीकरणमात्र होइन्, निर्मुल पार्न लाग्नपुर्छ उनले भने ।

लागूऔषध दुव्र्यसन न्यूनीकरणमा महाकाली नगरपालिकाको सक्रियता
दार्चुलामा लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि स्थानीय सरकारहरू पनि सक्रिय भएका छन् ।
यसैक्रममा, नगरपालिकाले चालू वर्षमा ‘एकपाइलो मल्टिमिडिया प्रालि’ सँगको सहकार्यमा विद्यालयमा लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बुधबार महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन मावि, धापमा यस्तो कार्यक्रम सम्पन्न भयो । मंगलबार महाकाली नगरपालिका–९ दत्तुस्थित राष्ट्रिय माविमा कार्यक्रम सम्पन्न गरिएको थियो । लागूऔषध दुव्र्यसन न्यूनीकरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वय रहेको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख दुर्गाकुमारी विष्टले भनिन्, ‘विद्यालय उमेरका बालबालिकालाई लागूऔषधबाट जोगाउने उद्देश्यले हामीले यो कार्यक्रम सुरु गरेका हौं । स्थानीय सरकार भएकाले बालबालिकाको भविष्य सुरक्षित राख्नु हाम्रो प्राथमिकता हो ।’ बालबालिकालाई कुलतबाट जोगाउन सकेमात्रै सम्बृद्धि हासिल गर्न सकिन्छ ।

कानुनी सचेतना कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीले बाल अधिकार, बालबालिकासम्बन्धी कानुन तथा विद्यार्थीले कसरी सफलता हासिल गर्ने तरिकाबारे प्रशिक्षण दिए ।
यस्तै जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले लागूऔषधको असर र त्यससम्बन्धी कानुनी व्यवस्था बारे जानकारी गराए ।
विद्यालयका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको कक्षा ८, ९ र १० मा अध्ययनरत एक सय बढि बालबालिकाको सहभागिता रहेको थियो ।

महाकाली नगरपालिकाले गत वर्षदेखि विद्यालयहरूमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत वर्ष नगरभित्रका माध्यमिक विद्यालयमै पुगेर कानुनी सचेतना कार्यक्रम गरेको थियो ।