लामो समय शिक्षण पेशामा समर्पित दुई व्यक्तित्वले नेतृत्व सम्हालेपछि व्याँस गाउँपालिकाको विकासमा नयाँ गति लिने प्रयास भइरहेको छ । गाउँपालिका अध्यक्ष मंगलसिंह धामी र उपाध्यक्ष विनोदसिंह कुँवर दुबैजना पूर्व शिक्षक हुन्, जसले हाल शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र विद्युतिकरणका क्षेत्रमा काम बढाएका छन् ।

शिक्षक हुँदा कक्षा कोठामा विद्यार्थीको भविष्य निर्माण गरेका धामी र कुँवर अहिले गाउँको समृद्ध र भविष्य निर्माणमा होमिएका छन् । अध्यक्ष धामी २०७४ सालको स्थानीय चुनावअघि शिक्षक पेशामा आवद्ध थिए । वडामा जनप्रतिनिधिको अनुभव बटुलेका उनले २०७९ सालदेखि अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यस्तै, उपाध्यक्ष कुँवर पनि महेन्द्र नमुना मावि खलंगामा विज्ञान विषय अध्यापन गर्दै आएका थिए । स्थायी शिक्षकको जागिर लत्याउँदै राजनीतिमा होमिएका कुँवरले व्याँसको विकासमा केहि नयाँ आयाम थप्नुपर्ने निष्कर्षमा छन् ।
यद्यपि दुवै फरक राजनीतिक पृष्ठभूमिबाट निर्वाचित भएका हुन् । अध्यक्ष धामी एमालेका तर्फबाट र कुँवर नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट विजयी भएका थिए । तर उनीहरूको साझा उद्देश्य भनेको व्याँसको समृद्धि हो । ‘परिवर्तन गर्न हिम्मत गर्नुपर्छ,’ उपाध्यक्ष कुँवरको भनाइ छ, ‘सामान्य विषयमा राजनीतिक विवादमा अल्झिनुभन्दा समाधानमा लाग्न आवश्यक छ ।’
यसअघिको २०७४ सालमा नेपाली काग्रेसबाट दिलिपसिह बुढाथोकीले पालिकाको जिम्मेवारी सम्हालेका थिए । बुढाथोकीको पालामा सुरु भएका अधुरा योजना पूरा गर्ने र थप पालिकाको भौतिक, शैक्षिक, कृषि, विद्युतीकरण जस्ताका क्षेत्रमा अहिलेका नेतृत्वले थप पहलकदमी अघि बढाइरहेको छ ।
सुविधासम्पन्न भवन र सडक पूर्वाधार निर्माण गरिदै
गाउँपालिकाले हालै आफ्नै सुविधासम्पन्न प्रशासकीय भवनबाट सेवा सञ्चालन थालेको छ । सात वर्षसम्म भाडाको भवनबाट सेवा दिँदै आएको पालिकाले नयाँ भवन निर्माणपछि एकै छानाबाट सेवा प्रवाह दिइरहेको छ ।
‘गाउँपालिकाभरिका नागरिकलाई सेवा दिन भाडाको भवन प्रयाप्त थिएन्,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिह धामी भन्छन्, ‘अहिले आफ्नै भवन बनेपछि सबै सेवा दिन पालिकालाई सहज भएको छ ।’

गाउँपालिकाले प्रशासकीय भवन मात्र नभई वडाका भवन पनि निर्माण गरेको छ । वडा नम्बर ३ को सीना, वडा नम्बर ५ को धौलाकोटमा वडा भवन बनाएर सेवा दिदै आएको छ । वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको वडा सचिव बीरेन्द्रसिह धामीले बताए । अहिलेको भवनबाट सेवा प्रवाह गर्न समस्या भइरहेको छ । ठाउँ प्रयाप्त छैन् । नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उनले थपे, ‘भवन बनेपछि वडाबासीको सेवा प्रवाहमा सहजता हुनेछ ।’

वडा नम्बर ५ को धौलाकोट आफ्नै सुविधासम्पन्न वडा कार्यालय निर्माण भएपछि सेवा दिन सहज भएको वडा अध्यक्ष बीरसिह धामी बताउँछन् । सेवाग्राहीलाई सेवा लिनमात्रै होइन्, कर्मचारीलाई आवासीय सुविधाको लागि समेत भवन प्रयोगमा आएको छ ।
दार्चुला–टिंकर सडकको विस्तारसँगै गाउँपालिकाका विभिन्न वडामा यातायात सेवा सुरु भएको छ । भारतीय बाटोमा निर्भरता हटाउँदै गाउँमा जीप र ट्रयाक्टर सञ्चालनमा आएका छन् ।

सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिका–४ को डोकटसम्म अहिले यातायात सञ्चालनमा आएको छ । व्याँस गाउँपालिकाको वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ५ र ६ का सडक छेउछाउका नागरिकको लागि टिकर सडकले सहजता दिएको व्याँस गाउँपालिका–५ का स्थानीय धनसिह धामीले बताए । अहिले नियमित रुपमा सुनसेरा देखि खलंगासम्म जीप सञ्चालनमा छ ।
खाद्यान्न ढुवानी गर्न भारतबाट निकै सास्ती भइरहेको बेला टिंकर सडकमा आएको सुधारले यहाँका नागरिकले राहत पाएको व्याँस गाउँपालिका–५ का वडाअध्यक्ष बीरसिह धामीको भनाई छ ।

भारतको सधैँ तनाव लिनुभन्दा अहिले आफ्नै बाटोबाट नागरिकले यात्रा गर्न पाएका छन् । विगतको तुलनामा यो वर्ष व्याँसको सुनसेरासम्म सडकमा सुधार आएको छ । दार्चुला–टिंकर सडकले पछिल्लो समय सडक सुधार गरे पछि निकै सहजता भएको छ ।
व्याँस गाउँपालिका–३ सीनादेखि माल हुँदै दुम्लीङसम्म नेपाली सेनाले सडक निर्माण गरिरहेको छ । मालगाउँसम्म नेपाली सेनाले सडकको ट्रयाक खुलाएको छ । ट्याक्टर तथा साना जीपहरु चल्ने अवस्थामा पुगेको नेपाली सेनाले जनाएको छ ।
छोटो मार्गको सडक निर्माण गरिदै
व्याँस गाउँपालिकाले दुहुँको टिमुरपाटा हुँदै हुती–धौलाकोट–मडगाउँ–माल जोड्ने गरी छोटो मार्गको सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणको कामको लागि चालू आर्थिक वर्षमा ७ करोड ३ लाख २६ हजार बजेट विनियोजन छ ।
यो सडक निर्माण गरिएमा दार्चुला टिंकर सडकको पहुँचबाट वञ्चित रहेका नागरिकले समेत सहज सेवा पाउने व्याँसका स्थानीय बताउँछन् । यो सडक छोटो हुन्छ । सडक निर्माण हुने वित्तिकै भारतीय सडकसँगको परनिर्भरता समेत अन्त्य हुने व्याँस गाउँपालिका–५ का नरसिह धामी बताउँछन् ।
महाकाली करिडोर, अन्तर्गत दार्चुला टिंकर सडक निर्माण भइरहेको छ । यो सडक कञ्चनपुरको ब्रह्मदेव हुँदै डडेल्धुरा, बैतडी दाचुला हुँदै त्रिदेशीय सीमा बिन्दु पु¥याउने सरकारी योजना छ । अहिले सदरमुकाम खलंगादेखि व्याँस गाउँपालिका–४ सुनसेरासम्म नियमित यातायात सञ्चालन हुँदै आएको छ । सदरमुकाम खलंगाबाट सुनसेरासम्म ४० किलोमिटर सडक छ । तर यो सडक निर्माण भए पनि निकै छोटो हुने बताइएको छ ।
१५ सैय्याको अस्पताल निर्माण हुँदैं
व्याँस गाउँपालिकामा १५ सैययाको अस्पताल निर्माण कार्य धमाधम भइरहेको छ । व्याँस गाउँपालिकाको वडा नम्बर ६ हुतीमा अस्पताल निर्माण कार्य भइरहेको हो । अस्पताल निर्माण पूरा भएपछि गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह कुँवर बताउँछन् ।

अस्पताल निर्माण २०८३ जेठ १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । २४ करोड ७६ लाख ८५ हजार रुपैयाँ लागतमा अस्पताल निर्माण भइरहेको हो । अस्पताल समयमै निर्माण सम्पन्न गर्ने काम भइरहेको उनले बताए । भवनको भुइतला निर्माण गरिदै छ । ‘निर्माण कार्य धमाधम भइरहेको हुँदा समयमै निर्माण हुनेमा आशावादी छौ,’ं उनले भने ‘यो अस्पताल बनेपछि विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्न सहज हुने छ ।’
अहिले व्याँसका ६ वटै वडामा स्वास्थ्य चौकी तथा दुर्गम बस्तीमा ग्रामीण स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिने काम भइरहेको छ ।
विद्युतीकरणले ल्यायो उज्यालो
व्याँस गाउँपालिका केन्द्र सुनसेरासम्म अहिले नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण पु¥याएको छ । विद्युत गाउँमै पुगेपछि दुर्गमका गाउँ उज्यालो भएका छन् ।
नागरिकले विद्युत गाउँमा पुगेपछि सोलार र टुकीको प्रयोग छोडेका छन् । गाउँमा पुगेको विद्युतका कारण स्थानीयको दैनिकी फेरिएको छ । विद्युत सँगै गाउँपालिका केन्द्र नजिकका सडक समेत उज्यालो बनेका छन् । रातको समयमा हिड्डुल गर्न स्थानीयलाई सहज भएको मानसिह कुँवर बताउँछन् । व्यापार व्यवसायमा सहजता ल्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ६, ५ र ४ हुँदै वडा नम्बर ३ मा विद्युतीकरणको काम सञ्चालन भएको छ । वडा नम्बर ३ को सीना क्षेत्रमा विद्युतीकरण कार्य बाँकी रहेको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष उपेन्द्रसिह धामीले सुनाए ।
तर विद्युत जोडिए पनि विद्युतका कर्मचारी गाउँमा नपुग्दा स्थानीयले विद्युतको बील तिर्न भने समस्या भएको गुनासो गरेका छन् । स्थानीय विमलसिह कुँवर भन्छन्, ‘गाउँमा विद्युत पुग्यो, हामीलाई निकै राहत भएका छ, तर विद्युतको बील कहिले तिर्ने ?’ विद्युतको बील तिर्न खलंगा धाउनु प¥यो भने सास्ती हुन्छ, ।
‘कति समयमा विद्युतको बील तिर्ने कसरी तिर्ने भन्नेबारे हामीलाई केहि थाहाँ छैन्,’ उनले भने, ‘कम्तीमा विद्युतका कर्मचारी गाउँ आएर विद्युत मिटर रिडिङको व्यवस्थापन भइ दिएको भए सहज हुन्थ्यो ।’
निःशुल्क शिक्षा कार्यान्वयन, संरचना विकास निर्माणमा जोड
व्याँस गाउँपालिकाले शिक्षा क्षेत्रको सर्वाङ्गिण विकासलाई प्राथमिकता दिँदै आएको छ । गाउँपालिकाभित्र रहेका २५ वटा सामुदायिक विद्यालयको सुदृढीकरण, आधारभूत पूर्वाधार निर्माण, शिक्षकको क्षमता अभिवृद्धि र विद्यार्थीमैत्री वातावरण निर्माणमा पालिकाले उल्लेखनीय कार्य गर्दै आइरहेको हो ।
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । संविधानले माध्यमिकसम्मको शिक्षा निशुल्क भनेअनुरुप गाउँपालिकाले विद्यार्थीबाट कुनैपनि प्रकारको शुल्क लिन रोक लगाएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नरेन्द्रसिह बडालले बताए ।
विद्यालयहरूमा शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन पालिकाले ५३ जना सहजकर्ता शिक्षक नियुक्त गरेको छ । लामो समयदेखि विषयगत दरबन्दी अनुसार शिक्षक नहुँदा समस्या भएको भन्दै पालिकाले सहजकर्ता शिक्षक व्यवस्थापन गरेको बडालको भनाई छ । विद्यार्थी संख्या अनुपातमा शिक्षक खटाउने काम भएका छन् । सहजकर्ता शिक्षकको लागि पालिकाले वार्षिक दुई करोड रुपैयाँ खर्च गरिँदै आएको छ ।
शैक्षिक पूर्वाधार विकासमा समेत गाउँपालिकाको अग्रसर देखिएको छ । भारतीय राजदूतावासको सहकार्यमा हिमालय मावि हुतीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भइरहेको छ । यो विद्यालय निर्माण गर्न गाउँपालिकाले कुल बजेटको २० प्रतिशत लागत साझेदारी रहेको छ । भवन निर्माण असारभित्रै निर्माण सक्ने गरी काम भइरहेको बडालले बताए ।
यस्तै, आर्थिक वर्ष २०७९ यता गाउँपालिकाले भौतिक पूर्वाधार अभाव रहेको सम्पाल मावि सुनसेरा; हिमालय मावि हुती, बसन्तपुर मावि, बसेडी; सिद्ध मावि, सिना; र ब्रह्मस्थान मावि, डोकटमा समेत नयाँ विद्यालय भवन निर्माण सम्पन्न गरेको छ ।
गाउँपालिकाले स्थानीय सन्दर्भ र आवश्यकतालाई ध्यानमा राख्दै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । यसका अतिरिक्त शिक्षकको क्षमता अभिवृद्धिका लागि मागमा आधारित तालिम, शिक्षक सम्मान कार्यक्रम, शैक्षिक सामग्री निर्माण तथा वितरण, र विद्यालयहरूमा भान्सा निर्माण जस्ता कार्यहरू समेत सञ्चालनमा छन् । विद्यालयमा भान्सा कार्यक्रम आइडिएस नेपालसँगको साझेदारीमा भइरहेको छ ।
व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुँवर ‘शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न संरचना मात्रै होइन, शैक्षिक वातावरण र शिक्षण पद्धतिको सुधार पनि अत्यन्तै जरुरी छ ।’
कृषि क्षेत्रमा ४२ लाखको लगानी
व्याँस गाउँपालिका, दार्चुलाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिँदै ४२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । बाझो जमिनलाई उपयोगमा ल्याई उत्पादन बढाउने लक्ष्यसहित पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।
पालिकाले च्याउ खेतीको विस्तार तथा प्रवद्र्धन, रैथाने बालीको संरक्षण, र बीउ वितरणजस्ता कार्यक्रममार्फत कृषि उत्पादनमा विविधता ल्याउने योजना अघि सारेको जनाएको छ । स्थानीय किसानहरूको सीप अभिवृद्धिका लागि स्थलगत घुम्ती तालिम तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको कृषि प्राविधिक विशेश्वर प्रसाद बडूले बताए ।
स्वस्थ्य उत्पादनलाई प्रवद्र्धन गर्न पालिकाले रसायनिक विषादीसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । यसले कृषकहरूलाई सुरक्षित र वातावरणमैत्री कृषि अभ्यासमा प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।
बर्षौंदेखि बाँझो अवस्थामा रहेका जमिनलाई उपयोग गर्दै आँखर खेती कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय स्रोत साधनको उपयोगमार्फत उत्पादन वृद्धि गर्ने यो प्रयास किसानहरूका लागि आयआर्जनको नयाँ स्रोत बन्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
संघीय सरकारबाट हस्तान्तरण भएको नयाँ आलु पकेट विकास कार्यक्रम र प्रदेश सरकारको ‘एक पालिका, एक नमूना नगदेबाली प्रवद्र्धन’ योजनाअन्तर्गत कृषकहरूसँग सहकार्य गरी नगदेबाली खेती विस्तारको कार्य अघि बढाइएको छ । एक पालिका एक नगदेबाली कार्यक्रम अन्तर्गत १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । साथै, किसान परिचयपत्र वितरण कार्यले कृषकहरूको पहिचान र पहुँचलाई सशक्त बनाउने उद्देश्य राखिएको बडूले बताए ।

पालिकाले उत्पादनमुखी कार्यक्रमलाई जोड दिँदै राज्मा खेती कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकामा आलू खेती प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको छ । व्याँस गाउँपालिकाले वर्षेनी कुण्डलौंआलू बजारमा बिक्री गर्ने गरेको छ । चालू आर्थिक वर्षमा मात्रै आलू पकेट विकास कार्यक्रममा १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
अहिले गाउँपालिकामा बार्षिक आलू ६५ मेट्रिक टन,कोदो १५ मेट्रिक टन, कागुनो १ मेट्रिक टन तथा धान १५ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
गाउँपालिकाका अनुसार, “अब बाझो खेत नराख्ने” भन्ने उद्देश्यअनुरूप कार्यक्रमहरू कार्यान्वयनमा छन् । कृषि क्षेत्रको सुदृढीकरणमार्फत व्याँस गाउँपालिका किसानहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ ।