विद्यार्थीलाई लागू औषध न्यूनीकरण र कानुनी चेतना कार्यक्रम

एकपाइलो मल्टिमिडिया प्रालिको आयोजनामा र महाकाली नगरपालिका दार्चुलाको सहयोगमा लागू औषध दुव्र्यसनी न्यूनीकरण तथा कानुनी चेतना कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार राष्ट्रिय माध्यमिक विद्यालय, दत्तुमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई लागू औषधको दुष्प्रभावबारे सचेत गराउँदै, उनीहरूलाई कुलतबाट जोगाउने उद्देश्य राखिएको थियो ।
विद्यालयतहका बालबालिकालाई लागू औषध गर्नुहुँदैन भन्ने शिक्षा दिने कार्यक्रमको उद्देश्य रहेको एकपाइलो मल्टिमिडिया प्रालिले जनाएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक छत्रबहादुर रावतले लागू औषधको प्रयोगबाट हुने शारीरिक, मानसिक र सामाजिक असरबारे विस्तृत जानकारी दिए । उनले बालबालिकाहरुले अहिले देखि नै आफु पनि सहभागि नहुने र परिवार छरछिमेकलाई समेत यस्ता कुलतमा फस्नबाट बालबालिकाले रोक्नुपर्ने धारणा राखे । लागू औषध सम्बन्धी कानुनी प्रावधान, सजाय तथा त्यसबाट जोगिनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले ‘जीवनमा अनुशासन र शिक्षा’ को महत्वबारे प्रेरणादायी कक्षा लिए । उनले भने, ‘जीवनको गन्तव्य के हुने, उद्देश्य लक्ष्य र भिजनबीच तालमेल गर्न सके मात्रै सफलता हासिल गर्न सकिने भन्दै विद्यालय उमेरमै उद्देश्य तय गर्नुपर्छ ।’
सहायक प्रजिज धामीले विद्यार्थीमा सिकाइप्रति रुचि विकास कसरी गर्न सकिन्छ र प्रतिफल के हुनेबारे प्रशिक्षण गरेका थिए । उनले थपे, ‘प्रतिस्पर्धी बनेर होइन्, गन्तव्य पहिचान गरेर अध्ययन गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले विद्यालय तहमै यस्तो कार्यक्रम गर्नुको औचित्य स्पष्ट पार्दै भनिन् ‘सीमा क्षेत्र र बजार क्षेत्रमा बालबालिका लागू औषधको लतमा पर्ने डर बढी छ । त्यसैले विद्यालयमै चेतनामूलक कार्यक्रम गरेर उनीहरूलाई समयमै मार्गदर्शन गर्नु जरूरी हुँदा कार्यक्रम गरिएको हो ।
विगतदेखि नै विद्यार्थीलाई लागू औषध, बालअधिकारको बारेमा प्रशिक्षण चलाउँदै आएको भन्दै उनले भनिन्, भविष्यको मेरुदण्ड मानिएका बालबालिकाको भविष्य उज्वल बनाउनतर्फ सबै लाग्नुपर्छ ।
राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक कल्यानसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च माविका इन्चार्ज रमेशसिह चैसिर, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामराजा पन्त, लगायत कार्यक्रममा विद्यार्थीहरू, शिक्षक, र पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार