व्यास गाउँपालिका–४ मा अवस्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको उच्च जोखिममा परेको छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएको कारण बस्ती पहिरोको उच्च जोखिममा परेको हो ।

यो क्षेत्रमा विसं २०२२।०२३ साल देखि पहिरो जान थालेको हो । पछिल्लो समय विक्रम सम्बत २०२८ र २०५१।०५२ सालमा आएको पहिरोको कारण यस क्षेत्रको एउटा बस्ती पूरै बिस्थापित भएको छ । महाकाली किनारदेखि पहिरो जान थालेकोमा अहिले भुलचौराबस्ती नजिकै पहिरो पुगेको छ ।

भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरि माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको बुझाई छ । भुलचौराभन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झण्डै ४२ परिवार ०५१।०५२ कै पहिरोबाट विस्थापित भएका छन् । मडगाउँ पूरै पहिरोले कटान गरेको व्याँस गाउँपालिका–४ का स्थानीय हरकसिह विष्ट बताउँछन् । यो क्षेत्रमा निरन्तर पहिरो जाने गर्दछ । यहाँको भौगोलिक बनोटका कारण पनि पहिरो रोकिने अवस्था छैन् ।


तत्कालीन सुनसेरा गाउँविकास समिति अन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा रहेको विष्टको भनाई छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ ।
०७४ सालमा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी, बिन्नाला बस्तीकाका ३२ घरधुरीको लागि घर निर्माण गरिएको भए पनि दलित बस्तीको लागि अहिलेसम्म घर पुर्नस्थापना गरिएको छैन् । बस्ती पुर्ननिर्माण र पुर्नस्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा उनको जोड छ ।
महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलित बस्ती नजिकैसम्म आइपुगेको स्थानीय देवराम कामी बताउँछन्। अहिले हाम्रो बस्ती भन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो वर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा रहे पनि आफुहरुको स्थानन्तरण हुन नसकेकोमा कामीको गुनासो छ ।
उनका अनुसार खेतीयोग्य जमिनको आधा भन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमिन पनि जोखिममा छ । खेतियोग्य जमिन पूरै कटान भइरहेका कारण के खाने भन्ने अवस्था सिर्जना भएको छ । गाउँमा मजदुरी गर्न पनि भनेजस्तो काम पाउँदैन् । हामीहरुको भएको जमिन तल सर्दै गएको छ ।
यस क्षेत्रको लगातार भूक्षयका कारण बस्तीको अस्तित्व नै संकटमा परेको छ । कयौं घरहरु चर्किएका छन् । यो ठाउँबाहेक अर्को ठाउँमा जमिन नहुँदा आफुहरु स्थानन्तरण हुन नसकेको उनले बताए । “घर पुर्ननिर्माण तथा पुर्नस्थापनाको लागि बजेट आइदिएको भए पनि आफन्तसँग जमिन मागेर अर्को ठाउँ सर्न हुन्थ्यो,” उनले भने, “तर आफैले घर बनाउन पैसा समेत छैन् ।” यो बस्तीमा १६ घरधुरीका एक सय बढि दलितको बसोबास छ ।
बर्षादको समयमा स्थानीयवासी पहिरोका डरले रातभर सुत्न पनि सक्दैनन् । जमिन कटान हुँदै जाने हो केहि वर्षपछि यहाँका दलित परिवारले भोकै बस्नुपर्ने अवस्था आउने उनको भनाई छ । अहिले प्रदेश सरकारमार्फत भइरहेको तडबन्धमा दलित परिवारलाई नसमेटेरै पहुँचको भरमा काम भइरहेको भन्दै कामीले गुनासो समेत गरे । उनले भने, “हामीले हाम्रो बस्ती जोगाउन तडबन्ध बनाऔं भन्यौं, तर यहाँ राजनीतिक सहमतिमा अर्के समिति बनेर काम भइरहेको छ ।” बस्ती हाम्रो डुब्दैछ, तडबन्ध अरुले मनपरी तवरले भिन्नै ठाउँमा बनाइरहेको उहाँको आरोप छ ।
व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुँवरका अनुसार अबको एक मात्र विकल्प बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु हो । “हामीले धेरै पटक माथिल्ला निकायहरूमा जानकारी गराएका छौं, तर हालसम्म कुनै प्रभावकारी पहलकदमी भएको छैन,” उनले भने । सामान्य तडबन्ध विगतदेखि नै महाकाली किनारबाटै सुरु भएको छ । तर चिप्लो सतह भएका कारण माटो पग्लिएर पहिरो जाने गरेको छ । अहिले पनि प्रदेश सरकारमार्फत तडबन्ध हाल्ने काम भइरहेको छ । अहिले बस्ती भन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलोखोलामा तडबन्ध भइरहेकोछ । तडबन्ध निर्माण प्रदेश सरकारमार्फत भइरहेको हुँदा कसरी समिति बनेर काम भइरहेको हो भन्ने विषयमा आफु जानकार हुन नसेको उनको भनाई छ ।
गाउँपालिकाले यो आर्थिक वर्षमा अति विपन्न २ वटा परिवारको घरको लागि बजेट विनियोजन गरेको जनाएको छ । सबै घरधुरी एकैपटक पुर्नस्थापना पुर्ननिर्माण गर्न सक्ने श्रोत गाउँपालिका सँग नभएको हुँदा प्राथमिकता आधारमा बजेट दिइएको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए ।