व्याँस गाउँपालिका–१ का छाङ्गरु र टिंकरका स्थानीय यो वर्ष पनि गाउँ जाने पैदलबाटो नहुँदा भारतीय भूमि भएर गाउँ फर्किएका छन् । छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु टिंकरमा बसोबास गर्ने व्यासीहरु बाटो नबन्दा भारतीय भूमि हुँदै गाउँ फर्किएका हुन् ।

त्रिदेशीय सीमाका व्यासी छ महिना खेतिपाती भित्र्याउन र व्यापार व्यवसायको लागि माथि (गाउँ) उक्लिने गर्छन् । चिसो ठाउँमा अत्यधिक हिमपात हुने गरेका कारण फेरि छ महिनापछि मंसिरमा बसाइँसराइ खलंगा हुने गर्दछ ।

यो वर्ष नेपालकै भूमि भएर घर जाने व्यासीको सपना अधुरै रहेको व्याँस गाउँपालिका–१ का वडा अध्यक्ष अशोकसिह बोहरा बताउँछन् । गत पुसमा व्याँसको जनप्रतिनिधिसहितको टोली आफ्नो गाउँ (छाङ्गरु–टिंकर) जाने पैदलबाटो माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएका थिए ।

अतिक्रमित भूमि कालापानी छेउका छाङगरु र टिंकर गाउँ जोड्ने पैदलबाटो सञ्चालन गर्न भन्दै यो वर्ष व्यासीको ज्ञापन पत्रको आधारमा ५ करोड ५० लाख रूपैयाँ बजेट निकासा भयो । बजेट आएपछि समयमै उपभोक्ता समितिमार्फत बाटो बनाउने गरी पटकपटक छलफल भएको थियो ।
‘उपभोक्ता समितिमार्फत बाटो बनाइएको भए अहिले व्याँसको कुञ्चा सार्न नेपालकै बाटो बन्ने थियो,’ व्याँस गाउँपालिका–१ का वडा सचिव बिनोदसिह बुढाथोकीले भने, “तर गाउँपालिकाले बजेट उपभोक्तामार्फत नभई बोलपत्र (टेण्डर) आह्वान ग¥यो ।’
गाउँपालिकाको टेण्डर प्रक्रियामा दुइटा कम्पनीले प्रतिस्पर्धा गरेकोमा प्राविधिक मूल्याङ्कनमा विवाद हुँदा प्रकृया रोकिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियाबारे गत शुक्रबारमात्रै निर्णय गरेको छ । निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोलेलगत्तै काममा खटाउन सकिने गाउँपालिका अध्यक्ष मंगलसिह धामी बताउँछन् । आर्थिक ऐन, सार्वजनिक खरिद ऐन लगायतका कारण बोलपत्र गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।
निर्माण कम्पनी छनोटमै विवाद भएपछि पैदल बाटो निर्माण कार्य ढिलाई भएको हो । आफ्नै देश भएर आउजाउ गर्ने बाटो नहुँदा नागरिकले बसाइसराईको बेला दुख भोग्नुपरेको स्थानीय दानसिंह तिकरी बताउँछन् । ‘स्वदेशकै बाटो भएर आउजाउ गर्ने सपना देखेको दशकौं भयो’, योपटक बाटो बन्छ भनेर निकै चर्चा भयो तर अन्तिममा भारतकै भूमि भएर गाउँ फर्किनु पर्दा नरमाइलो लागेको छ, उनले सुनाए । राष्ट्रियताको जतिसुकै नारा लगाए पनि भारतले अनुमति नदिने हो भने गाउँ आउँजाउँ गर्न सकिने अवस्था छैन् । भारतसँग हात नजोडि गाउँ जान सकिदैन् । गाउँपालिकाले उपभोक्ता समिति बनाउन नदिएकै कारण अहिले स्थानीयले भारतीय भूमि हुँदै गाउँ फर्किनु परेको स्थानीयको गुनासो छ ।
फागुन र चैत्र महिनामा बाटो निर्माण कार्य सम्पन्न गरेर वैशाखमा व्याँसको कुञ्चा नेपालबाटै हिडाउने उदेश्यका साथ बजेट माग भएको थियो । २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी भएपछि व्याँसका नागरिकले नेपालतिर सडक र पैदलबाटो बन्ने सपना देखेका थिए, । स्थानीय जीतसिह बोहरा भन्छन्, ‘नक्सा जारी भएपछि सशस्त्र प्रहरी बलको गुल्म बन्यो, बीओपी बस्यो । दिनहुँ जस्तो हेलिकप्टरमा उच्च पदस्थको भ्रमण भयो । तर अहिले यहाँका नागरिकको लागि पैदलबाटो समेत बनाउन सकेका छैनन् ।’
पञ्चायतकालमा निर्मित पैदलबाटो मर्मत हुन नसक्दा नागरिकले भारतीयको दुव्र्यवहार खेप्दै गाउँ आउजाउँ गर्न बाध्य छन् । स्थानीयले आफ्नो गाउँ जान बहुयात्रा अनुमति पत्र लिएर कुञ्चा सरेका छन् । भारतीय बाटो भएर व्यासक्षेत्र जाने नेपालीले बहुयात्रा अनुमति पत्र बनाउनुपर्छ । बहुयात्रा अनुमतिमा भारतीय एसडिएम कार्यालयले स्वीकृत दिएपछि मात्रै यात्रा गर्न पाइने वडा अध्यक्ष बोहरा बताउँछन् ।
भारतले नेपालको व्यासक्षेत्रसँग जोडिएको क्षेत्रलाई नोटिफाइड (निषेधित) क्षेत्र बनाएको छ । छियालेकदेखि माथिको सबैक्षेत्रमा भारतीय नागरिकले पनि स्थानीय प्रशासनको लिखित अनुमतिले मात्रै जान पाउँछन् ।
व्याँसको छाङगरुमा १ सय १० र टिंकरमा ७० घरपरिवारको बसोवास छ । दुबै गाउँमा व्यासी शौका समुदायको मात्रै बसोवास रहिआएको छ ।