दार्चुलाको मालिकार्जुन देशमै पहिलो योगमय पालिका घोषणा

नेपालमै पहिलो पटक दार्चुलाको मालिकार्जुन योगमयपालिका घोषणा गरिएको छ । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकालाई योगमयपालिका घोषणा गरिएको हो ।
योग आयुर्वेद स्वास्थ्य शिक्षा र आत्म अनुशासन पालिका बनाउने उद्देश्य अनुरुप पालिकालाई एक कार्यक्रमका बीच मुख्य केन्द्रीय प्रभारी युवा नेपाल समितिका साधवी डाक्टर देवविजयाले घोषणा गरेकी हुन् ।
योग, आयुर्वेद, शिक्षा र आत्म अनुशासन विषयमा वृहत अन्तरक्रिया गर्दै योगमयपालिका घोषण गर्ने मालिकार्जुन पहिलो हो । गाउँपालिकाले सबै वडामा रहेका विद्यालयहरुमा योग सम्बन्धि शिक्षकको व्यवस्थापन गर्दै दैनिक योग अभ्यास संचालन गर्दै आइरहेको छ ।
पालिका स्तरमा योग शिविरबाट प्रशिक्षकहरु छनोट गरी योग शिक्षालाई घरघरसम्म पु¥याउने उद्देश्य राखेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए ।
पतञ्जली युवा नेपालका मुख्य केन्द्रीय प्रभारी सादवी देवविजया र पालिका अध्यक्ष हिरासिंह धामीले पालिकालाई योगमय बनाउन गरिएको सम्झौता पत्र आदानप्रदान गरेका छन् ।
२०७९ सालमा स्थानीयतहमा निर्वाचित भए पछि गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकामा योगको सुरुवात गरेका थिए । सोहि उद्देश्य पूरा गर्ने योजना अनुसार गाउँपालिकाले हरेक विद्यालयमा योग प्रशिक्षक राखेर विद्यालय तहबाटै योग अभ्यास सुरुवात गरेको छ ।
गाउँपालिकालाई योग र आयुर्वेदकको माध्यमबाट स्वस्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप योगमयपालिका घोषणा गरिएको अध्यक्ष धामीको भनाई छ । “आफु निर्वाचित भएदेखि नै योगलाई नीतिकार्यक्रम मार्फत जोडेर ल्याएको हुँ,”उनले भने ।
पालिकाले तीनवर्षदेखि पालिकाका ३७ वटै विद्यालयमा योग शिक्षक खटाएको छ । विद्यालयतहमै हरेक दिन योग अभ्यास गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । योग र आयुर्वेदबारे जानकारी गराउन स्थानीय पाठ्यक्रम ‘हाम्रो मालिकार्जुन’प्रकाशन गरेर सिकाउन थालिएको छ ।
गाउँपालिकाले योग प्रशिक्षक उत्पादन गर्न बृहत तालिम सञ्चालन गर्दै आइरहेको छ । गाउँपालिकाले योग र आयुर्वेदश मार्फत विद्यालयमा असल अभ्यासको थालनी भएको स्थानीय शिक्षक चन्द्रसिंह धामीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार