जो तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो

दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर १ को नागु इयरकोटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण हुन बाँकी रहेको ठाउँमा विद्युतीकरणको काम गरिरहेको छ ।
विद्युतीकरण भइरहेको बेला सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो । त्यो हो, विद्युतीकरणको लागि ट्रान्सफर्मर स्थानीय युवाहरुले काँधमा राखेर बोक्दै गरेको । स्थानीय रामसिह ठेकरेले रुटिन अफ बन्दमा पठाइएको यो फोटो अठार घण्टामा ११ के लाइक र ८१ सेयर भएको छ । यो समाचार तयार पार्दासम्म ६५९ जनाले कमेन्ट समेत गरेका छन् ।
नौगाडमा अहिले राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य भइरहेको नौगाड गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिलालसिंह महताले जानकारी दिए । सडक नहुँदा स्थानीयले यो क्षेत्रमा काठको सहारामा विद्युतीय सामाग्री ढुवानी गर्दै आएको उनले बताए ।
यहाँको वडाको लागि ४ वटा विद्युत ट्रान्सफर्मर आवश्यक पर्ने भएकाले अहिले ढुवानी कार्य भइरहेको छ । नौगाड गाउँपालिकाले वडा नम्बर १ मा सडक निर्माणको लागि पालिकाको स्कारभेटर प्रयोग गरेर सल्ला क्षेत्रसम्म सडक पुर्याएको भए पनि सल्लाभन्दा माथिको क्षेत्रमा कडा चट्टान र भिरालो जमिन भएकाले सडक अघि बढेको छैन् ।
यस क्षेत्रमा सडक नपुग्दा दैनिक उपभोग्य साम्रगी ढुवानी तथा जोखिमर्पुण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ । नौगाड गाउँपालिकामा ७ वटा लघुजलविद्युत आयोजनाहरु समेत सञ्चालनमा रहेको छन् ।

सम्बन्धित समाचार

ताजा समाचार