शैक्षिक सत्र सुरु हुनुअगावै दार्चुलामा पाठ्यपुस्तक

सुदूरपश्चिम प्रदेशको विकट एवं हिमाली जिल्ला दार्चुलामा शैक्षिक सत्र २०८२÷८३ सुरु हुनुअगावै पाठ्यपुस्तक पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिए । यहाँका नौ वटै स्थानीय तहले विद्यालयका खातामा पाठ्यपुस्तक खरिदका लागि आवश्यक पर्ने रकम निकासा भएसँगै पुस्तक ढुवानीकर्ताले विद्यालयमा पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेका छन् ।
सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाका केही विद्यालयका पाठ्यपुस्तक खलङ्गा आइपुगेका छन् । नगरपालिकाका केही विद्यालयमा पुस्तक पठाउनेको जिम्मा पाएको भावना स्टेसनरी एन्ड बुक्स डिपो खलङ्गाका सञ्चालक राजेन्द्रप्रसाद बडूका अनुसार खलङ्गामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय, मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप, छन्ना तिङ्करी कन्या माध्यमिक विद्यालय खलङ्गा र हुस्कर माध्यमिक विद्यालय काटैका पाठ्यपुस्तक आइपुगेको पुष्टि गरे ।
अन्य स्थानीय तहका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्ने क्रम जारी रहेको समन्वय एकाइ प्रमुख पन्तले बताउनुभयो । पुस्तक ढुवानीकर्ताले एक÷दुई दिनभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने जानकारी दिएको उनले जानकारी दिए ।
‘धेरै जसो विद्यालयका पाठ्यपुस्तक जिल्ला पुगिसके, पुस्तक दिवसका दिन विद्यार्थीको हात हातमा पुस्तक हुन्छन्,’ उनले भने । सोही दिनदेखि पढाइसमेत सुरु हुन्छ, उनले थपे । २०८२ वैशाख ५ गते पुस्तक दिवस भव्यताका साथ मनाइने पनि बताइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रमार्फत निजी छापाखानाले प्रकाशन गरेका पुस्तक विकट जिल्ला दार्चुलामा समयमै आइपुगेका छन् ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु भएपछि पनि ढिलो गरेर उपलब्ध हुने पाठ्यपुस्तक यस वर्ष भने समयमै आइपुगेका हुन् । समयमै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध हुँदा अध्यापन र विद्यार्थीलाई पढाइमा समेत सहजता हुने छन्ना तिङ्करी कन्या माध्यमिक विद्यालय खलङ्गाका शिक्षक केशवदत्त भट्टले बताए ।
दार्चुलामा ३३३ सामुदायिक विद्यालयको सङ्ख्या रहेको छ भने आधार तह (१–८) मा एक्काइस हजार ३४० र माध्यमिक तह (९–१०) मा पाँच हजार २७५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक सुनिश्चित गराइने बताइएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएकै दिनदेखि जिल्लाका करिब बत्तिस हजारभन्दा बढी विद्यार्थीको हात हातमा पाठ्यपुस्तक हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार