दुहुँका दुई विद्यालयमा एसइईको तयारी गर्न आवासीय कक्षा सञ्चालनमा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी स्वरुप दुहुँका दुई विद्यालयमा आवासीय तयारी कक्षा सञ्चालन भएको छ । दुहुँ गाउँपालिकास्थित धारीपाटा मावि धारी र गणेश मावि सिमलीले विद्यालयमै २४ सैं घण्टा राखेर आवासीय तयारी कक्षा गरिरहेको हो ।
विद्यार्थीको कमजोरी पक्षलाई केलाउँदै एसइईको नतीजामा सुधार ल्याउन आवासीय तयारी कक्षा भइरहेको दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । धारीपाटा मावि धारीले फागुन ५ गतेदेखि र गणेश मावि सिमलीले फागुन ६ गतेदेखि विद्यालयमै विद्यार्थी राखेर पढाइ गरिरहेको छ ।
विद्यार्थीलाई चैत ३ गतेसम्म विद्यालयमै राखी नियमित तयारी कक्षा सञ्चालन गरिने छ । विद्यार्थी ६ घण्टा मात्रै विद्यालयमा हुने र बाँकी समय घरमा हुँदा पढाईमा सुधार नभएपछि आवासीय कक्षा सञ्चालन गरिएको धारीपाटी मावि धारीका प्रधानाध्यापक दलबहादुर कुवँरले बताए । अभिभावकसँगको छलफलपछि विद्यार्थीलाई खान बस्नको व्यवस्था विद्यालयमै गरिएको छ ।
विद्यालयमा अहिले गणित, बिज्ञान र अंग्रेजी बिषयको तयारी कक्षा भइरहेको गणेश मावि सिमलीका प्रधानाध्यापक मोहन चन्दले बताए । माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरु पालैपालो बस्ने र हरेक दिन एक जना अभिभावकसमेत विद्यार्थीसँगै बस्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार