मार्मामा २८.३० मेगावाटको मध्यचमेलिया शिलान्यास

दार्चुलाको मार्मा गाउँपालिका– २ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको शनिबार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।

गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बन्ने दार्चुला पावर लिमिटेडका प्रबन्ध सञ्चालक शाश्वत चालिसेले बताए ।
अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्ने मध्यचमेलिया जलविद्युत् करिब २४ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ०८३ माघसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको र सोही समयमा आयोजना निर्माण गरिसक्ने सिभिलतर्फको काम गरिरहेका निर्माण व्यवसायी सुरेश चन्दले बताए ।
‘अपर चमेलिया निर्धारित समयभन्दा पहिल्यै सम्पन्न गरेका हौँ, यो पनि समयमै निर्माण हुन्छ,’ चन्दले भने ।
मार्मा गाउँपालिका– २, लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका– ३, नलबगडमा विद्युत्गृह निर्माण हुनेछ । बाँधस्थलबाट ३.३३ डायमिटरको एमएस (माइल्ड स्टिल) पाइपलाइनद्वारा विद्युत्गृहसम्म पानी पुर्‍याइने आयोजनाका इन्जिनियर विष्णु शाहले बताए ।
‘मध्यचमेलियामा पानीको प्रवाह प्रतिसेकेन्ड २५.१७ घनमिटर हुनेछ र नेटहेड (उचाइ) १२८.४६ मिटर रहनेछ,’ इन्जिनियर शाहले भने, ‘आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ ।’ यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने शाहले जानकारी दिए ।
मध्यचमेलियामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको प्रबन्ध सञ्चालक चालिसेले बताए ।
मध्यचमेलियाको शिलान्यस कार्यक्रममा अपि पावर कम्पनीका सञ्चालक गुरु न्यौपानेले स्थानीयहरूको साथ पाए थप आयोजनाहरूमा लगानी गर्ने बताए ।
चौथो आयोजनाका रूपमा निर्माण गर्न लागेको मध्यचमेलियापछि अन्य सम्भावित आयोजना निर्माणका लागि सोचिरहेको उनले बताए । ‘दार्चुलामा एउटा, दुइटा होइन, चौथो आयोजना निर्माण गर्दै छौँ,’ कार्यक्रममा बोल्दै न्यौपानेले भने ‘स्थानीयको सहयोग रह्यो भने चार होइन, दसौँ आयोजना बनाउन तयार छौँ ।’
दार्चुला पावर कम्पनी दार्चुलावासीको सम्पत्ति रहेको बताउँदै न्यौपानेले चमेलिया र मधहाकालीमा सम्भाव्य देखिएका आयोजनाहरू बनाउन चाहेको दाबी गरे । उनले दार्चुलामा उत्पादित बिजुली भारतमा बेच्न दार्चुलाबाटै प्रसारणलाइन बनाउन सरकारलाई अनुरोध गरे ।
कार्यक्रमको शिलान्यास गर्न आइपुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता दिलेन्द्र बडूले दार्चुलामा नेपाल–भारत जोड्ने पुल बनिसकेको प्रसारणलाइन निर्माणका लागि आफूहरू प्रयासरत रहेको बताए । बडूले कानुन संशोधन गरेर निजी क्षेत्र स्वयंलाई प्रसारणलाइन बनाउन दिनुपर्ने आवश्यकता रहेको बताए ।सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा विद्युत्को धेरै ठुलो सम्भावना रहेको बताउँदै बडूले भने, ‘उत्पादन भएको बिजुली एक सय ३० किलोमिटर अत्तरिया होइन, ३० किलोमिटरमा रहेको जोलजिबीबाट भारतमा बेच्नुपर्छ ।’

सम्बन्धित समाचार

ताजा समाचार