महाकाली नगरपालिकाभरिका एकल महिलाहरुको लागि एक दिने व्यवसायिक तरकारी खेती विकास तालिम खलंगामा सञ्चालन भएको छ । महाकाली नगरपालिकाको आर्थिक सहयोग तथा एकपाइलो मल्टिमिडिया प्रालिको आयोजनामा तालिम सञ्चाल भएको हो ।
महिला, बालबालिका, आदिबासी माझ नगर उपप्रमुख कार्यक्रम अन्तर्गत एकल महिलाको लागि व्यवसायिक तरकारी खेती विकास तालिम सञ्चालन गरिएको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले बताइन् । नगरभित्रका २० देखि ४२ वर्ष उमेर समूहका ५७ जना एकल महिलाहरुको लागि तालिम सञ्चालन गरिएको हो ।

एकल महिलालालाई व्यवसायमा जोड्ने उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । म पनि महिला भएकै कारण महिलालाई कसरी अधिकारसँगै आत्मनिर्भर बनाउन सकिन्छ भनेर कार्यक्रम राखियो उनले भनिन्, एकल महिला पनि व्यवसायमा जोडिएर आत्मनिर्भर बन्नु जरुरी छ ।

यस्तै महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले महिला पनि आत्मनिर्भर बन्ने बाटोमा लाग्न प्रेरित गर्न यो तालिमको आयोजना गरिएको बताइन् । उनले भनिन्, एकल महिलाको आत्मविश्वास बढाउन व्यवसायमा लाग्न प्रेरित गर्न यो तालिम महत्वपूर्ण हुनेछ । तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न सके तालिमको महत्व बढ्ने उनको भनाई छ ।
तालिमको उद्घाटन शत्रमा महाकाली नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुँवर, कृषि शाखाका शेरसिह बोहरा, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्रसिह धामीले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा कृषि ज्ञान केन्द्र दार्चुलाका बालिविकास अधिकृत डिल्लीराज चौधरी, हिमालयन सिड्स दार्चुलाका प्रोपराइटर धनन्जय जोशी, महाकाली नगर कृषि शाखा प्रमुख शेरसिह बोहराले व्यवसायिक कृषि सम्बन्धि तालिम दिएका छन् ।
यस्तै महिलाहरुको अधिकार, र संविधानमा भएको महिलाको हक सम्बन्धमा दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अधिकारकर्मी धाना धामीले प्रशिक्षण गरिन् ।

तालिममा नगरपालिकाका ९ वटै वडाका एकल महिला, ९ वटै वडाका कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।
यसैबीच व्यवसायिक तरकारी खेती सीप विकास तालिमका सहभागिहरुलाई तरकारीको बीउ वितरण गरिएको छ । तालिमसँगै व्यवहारिक रुपमै एकल महिलाले तरकारी खेती लगाउन सकुन भनेर विउ वितरण गरिएको एकपाइलो मल्टिमिडिया प्रालिका प्रबन्धक रमेशसिह खत्रीले बताए ।
तालिमका सहभागिहरुलाई महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले तरकारी विउ हस्तान्तरण गरेकी थिइन् ।





