दार्चुला-टिंकर सडकको स्थलगत अनुगमन गर्दै पूर्वमन्त्री ठगुन्ना

नेपाली सेनाद्धारा निर्माण भइरहेको निर्माणाधीन दार्चुला–टिंकर सडकको पूर्वमन्त्री गणेशसिह ठगुन्नाले स्थलगत अनुगमन गरेका छन् । व्याँस गाउँपालिका–३ तुसरपानीदेखि सेनाले सडक निर्माण गरिरहेको छ ।


नेपालकै भूमि भएर व्याँस गाउँपालिका–१ छाङ्गरु–दुम्लीङ जोड्ने गरी पैदलबाटोको अवस्थाबारे निरीक्षण गर्न निस्केका ठगुन्नाले सडकको समेत अनुगमन गरेका छन् । सोमबार व्याँस गाउँपालिका हुँदै सडकको निरीक्षण गर्दै दुम्लीङ पुगेका छन् ।
तुसारपानीदेखि टिंंकरसम्मको ७९ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाको विकास निर्माण गणले यहाँ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा नेपाली सेनाले कुल ९ करोड बजेटमार्फत सडक निर्माण गरिरहेको छ ।
सेनाले हालसम्म १४ किलोमिटर सडकको ट्र्याक खोलेको जनाएको छ । यो सडक निर्माण कार्य पनि ढिलाई भएको भन्दै स्थानीय असन्तुष्ट छन् ।
सडक निर्माण ढिलाई हुँदा व्याँस गाउँपालिका १ र २ का स्थानीयले आवतजावत गर्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएपछि यो वर्ष नेपालतिरै बाटो बनाउनुपर्नेमा सबैको जोड छ ।
आइतबार खलंगामा सर्वपक्षीय भेलाले नेपालतिर बाटो खोल्नुपर्ने र त्यसको लागि दुम्लीङदेखि बयलधारसम्मको अवस्थाबारे निरीक्षण गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका ठगुन्नाले व्याँस गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक कर्मचारी सहित बाटोको निरीक्षणमा निस्किएका हुन् ।
स्थलगत निरीक्षणपछि त्यस क्षेत्रको अप्ठ्यारो ठाउँ के कति छ भनेर पत्ता लगाउने र थप रणनीति बनाउने योजना छ । यो वर्ष बैशाखसम्म नेपालतिर पैदलबाटो बनाउनुपर्छ भन्ने अठोटका साथ गाउँपालिकाले समेत टिम परिचालन गरेको छ ।
गत पुस दोस्रो साता व्याँस गाउँपालिकाको डेलिगशन काठमाण्डौं गएको थियो । अर्थमन्त्री र प्रधानमन्त्रीलाई व्याँसको दुम्लीङ–छाङ्गरु जोड्ने गरी पैदलबाटो समेत नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । सोही अनुसार अर्थमन्त्रालयले दुम्लीङ–छाङ्गरु जोड्न भन्दै ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार