दार्चुलामा ७ हजार बढि किशोरीलाई क्यान्सरविरुद्धकाे खोप लगाइने

दार्चुलामा ७ हजार बढि किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ७ हजार २६४ जना किशोरीलाई खोप लगाइने भएको हो ।
माघ २२ गतेदेखि सञ्चालन हुने अभियाननको लागि २२८ वटा खोप केन्द्र तोकिएका छन् । ९ वटै स्थानीय तहमा पुगेर खोप दिइने स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बीरेन्द्र भट्टले जानकारी दिए ।
स्थानीय तहअनुसार महाकाली नगरपालिकाका १ हजार ४३३ जना, शैल्यशिखर नगरपालिकामा १ हजार २५१ जना, दुहुँ गाउँपालिकामा ४४३ जना, मार्मा गाउँपालिकामा ९३० जना र अपिहिमाल गाउँपालिकामा २९५ जना किशोरीले खोप पाउने छन् ।
यस्तै लेकम गाउँपालिकामा ६०० जना, नौगाडमा १ हजार १०८ जना, मालिकार्जुनमा ७१६ जना तथा व्याँस गाउँपालिकामा ४९२ जनाले खोप पाउने तथ्याङ्कन संकलन गरिएको स्वास्थ्य प्रमुख भट्टको भनाई छ ।
जिल्लामा खोप पाउनेमा विद्यालय बाहिरका २९ जना किशोरी रहेका छन् । विद्यालय बाहिर रहेका शैल्यशिखरमा २ जना, दुहुँ गाउँपालिकाका २ जना मार्मा गाउँपालिकामा ५ जना, लेकम गाउँपालिकामा ६ जना, नौगाड गाउँपालिकामा ११ जना तथा व्यासँ गाउँपालिकामा ३ जना किशोरीले खोप पाउने छन् ।
सो खोप कार्यक्रममा लक्षित समूहका किशोरी नछुटून् भन्ने उद्देश्यले केन्द्रदेखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
अभियानमा २२४ जना स्वास्थ्यकर्मी, ४४८ जना स्वयंसेवक र १४० जना सुपरभाइजर खटिने कार्यालय प्रमुख भट्टको भनाई छ । अभियानको लागि हरेक स्थानीय तहमा समन्वय बैठक भइरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार