मालिकार्जुन गाउँपालिका–६ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।
अहिले भइरहेकाे उत्खनन् कार्यकाे नेकपा एमाले पाेलिटव्यूराे सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जाेशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायतले निरीक्षण गरेका हुन् ।


लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।
उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरेका छन् ।


उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठुलो सम्भावना बोकेको ठाउँ हाे । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।

