मालिकार्जुन गाउँपालिका –७ का नागरिक अहिले सामाजिक सुरक्षा भत्ता लिन खलंगा आउँदा ज्येष्ठ नागरिकले समस्या भोग्नुपरेको मालिकार्जुन गाउँपालिका–७ का ७२ वर्षीय धनिराम पार्कीले बताए । उनले भने, आफु र पत्नि गमानी पार्कीलाई महाकाली लोकमार्गको ठड्याकाठामा डो¥याउँदै आउन समस्या भयो ।
झण्डै ५० मिटर क्षेत्रमा सडकमा पहिरोले अवरुद्ध बनाएको छ । सडक बन्द हुँदा अहिले ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति र सर्वसाधारणले आवतजावतको लागि बैकल्पिक बाटोको प्रयोग गर्नुपरेको छ ।
धनिरामले भने, पहिले त गाडीमा खलंगा पुगिन्थ्यो । अहिले सडक अवरुद्ध भएको जानकारी नपाउँदा दुःख पायौं । तीन जना आउनुपर्दा टिकटमै २ हजार खर्च भइसक्यो । दिनहुँ सामाजिक सुरक्षा भत्ता लिन खलंगा आउनेले समस्या भोग्ने गरेका छन् ।
मालिकार्जुन गाउँपालिकाका अन्य वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई माछापुच्छे«े बैंकमार्फत वडामै भत्ता वितरण गरिदै आएको छ । तर वडा नम्बर ७ मा सुरु देखि ग्लोबल बैंकमा खाता खोलिएको हुँदा भत्ता लिन सास्ती भएको वडा अध्यक्ष बहादुर चन्दले बताए । ग्लोबल बैंकका शाखा वडामा छैन् । हाम्रो वडाका नागरिकले मात्रै सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा ज्येष्ठ नागरिक १५६ जना, ज्येष्ठ नागरिक दलित १७ जना, ज्येष्ठ नागरिक एकल महिला १५ जना, विधवा महिला ३४ जना, क बर्गका अपांगता भएका ५ जना, ख बर्गका ७ जना र दलित बालबालिका २९ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
