महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलंगा–गोकुलेश्वर सडक खण्डको ठड्याकाठा भीरको अवरुद्ध खुलेको छ । पुस १५ गतेबाट सडक चौडा बनाउने क्रममा भएको अवरुद्ध शनिबार साँझबाट खुलेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबारदेखि बाटो खुलेको छ । दार्चुला सदरमुकाम खलंगानजिक रहेको महाकाली नगरपालिका –५ किम्तडी ठड्याकाठामा सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा सास्ती भएको थियो ।
सडक कटानका क्रममा खसेको पहिरो पन्छाएर शनिबारदेखि आवतजावत खुला गरिएको छ । सो क्षेत्रमा बाँकी काम आइतबारदेखि जारी रहने निर्माण व्यवसायी प्रतिनिधि सुरेन्द्रबहादुर बमले जानकारी दिए । सडक खुलाएर यातायातका साधन पास भएका छन, उनले भने निर्माणको क्रममा केही समय अवरोध भए पनि अब लामो समय सडक अवरुद्ध हुँदैन् । जिल्लाको मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू भीर चढेर पैदल हिड्न बाध्य भएका थिए ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई हिँडडुल गर्न झन समस्या भइरहेको थियो । सडक अवरुद्ध भएकै कारण शुक्रबार महेन्द्र नमूना मावि खलङ्गाले एक दिन विद्यालय बन्द गरेको थियो ।
मालवाहक सवारी किम्तडी र खलंगामा रोकिएका थिए । खलंगाबाट महेन्द्रनगर, धनगढी, काठमाडौंका लागि छुट्ने लामो दूरीका बस तथा छोटो दूरीमा चल्ने जिपहरू किम्तडीसम्म मात्र चल्ने गरेका थिए ।


पाँच दिनदेखि अवरुद्ध रहेको महाकाली लोकमार्ग सुचारु




