महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलंगा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा अवरुद्ध भएको सडक नखुल्दा आवतजावतमा सर्वसाधारणलाई सास्ती भएको छ । सदरमुकाम खलंगा नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध भएको हो ।
पाँच दिनदेखि सडक कटानका क्रममा खसेको पहिरो अहिलेसम्म पन्छाउन नसक्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू पैदल हिड्न बाध्य भएका छन् । सडक चौडा पार्नका लागि किम्तडी ठड्याभिर कटान चलिरहेको ठाउँमा पुस १५ गतेदेखि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक नखुल्दा स्थानीयले हिड्डुल गर्न समस्या भएको स्थानीय पत्रकार कमलराज जोशीले बताए । मुख्य राजमार्ग नै अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्न बाध्य भएका छन् ।
अहिले सडक माथिको भीरबाट स्थानीयले हिड्डुल गर्नुपरेको छ । विद्यार्थीले विद्यालय आउन समस्या भएको अभिभावक पुष्कर जोशीले बताए । सडक अवरुद्ध भएकै कारण शुक्रबार महेन्द्र नमूना मावि खलंगाले एक दिन विद्यालय बन्द गरेको थियो । खलंगामा अध्ययन गर्न आउने विद्यार्थी किम्तडी, खेडबोके, धाप लगायतका क्षेत्रबाट बसमा आउने गर्छन् ।
सडक सुरु नहुँदा मालवाहक सवारी किम्तडी र खलंगामा रोकिएका छन् । खलंगाबाट महेन्द्रनगर, धनगढी, काठमाण्डौंका लागि छुट्ने लामो दुरीका बस तथा छोटी दुरीमा चल्ने जीपहरु किम्तडीसम्म मात्र चल्ने गरेका छन् । खलंगामा रोकिएका बस तथा जीपहरु बाहिर जान पाएका छैनन् ।
त्यस्तै सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई थप उपचार गराउनु परे धनगढी महेन्द्रनगर जान समस्या भएको छ । सडक विस्तारको क्रममा ठूला पहिरो आएको थियो । तर सडक खुलाउन निकै ढिला सुस्ती भएको जोशी बताउँछन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले अवरुद्ध सडक शनिबार साँझ सम्म खुल्न सक्ने सम्भावना रहेको बताउँछन् । निर्माण कम्पनीले सडक खोल्ने क्रम जारी छ ।