सामुदायिक ग्रामिण विकास समाज नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले दार्चुला जिल्ला सदरमुकाम खलंगामा आफ्नो कार्य क्षेत्रका गतिविधिसहित सन २०२४ भित्र भए गरेका कार्यक्रम तथा बजेट बारे सरोकारवालाहरुको सहभागितामा सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो ।
दार्चुलाको दुहुँ गाउँपालिका, महाकाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेको सीआरडीएस नेपालले संस्थाको परिकल्पना, समन्वय र सहकार्यमा गरेका प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्न र मार्गदर्शक सुझाव संकलनका लागि सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको संस्थाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए । मुख्यतयाः शिक्षा, आयआर्जन र पैरवीका क्षेत्रमा कार्य गर्दै आइरहेको यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।सीआरडीएसले हाल दार्चुला जिल्लामा एकिकृत सामुदायिक विकास परियोजना, प्रारम्भिक तह पढाई कार्यक्रम, ट्रोसा परियोजना र सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाका वरिष्ठ कार्यक्रम संयोजक मान सिंह कार्कीका अनुसार जिल्लाको दुहुँ गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा एकिकृत सामुदायिक विकास परियोजनाअन्तर्गत शिक्षा आयआर्जन र पैरवीका क्षेत्रमा, जिल्लाका ९ वटै स्थानीय तहमा प्रारम्भिक तह पढाई कार्यक्रम अन्तर्गत पढाई सीप विकास तथा दिवा खाजा व्यवस्थापनमा, ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ट्रोसा परियोजना अन्तर्गत महाकाली तटीय क्षेत्र र महाकाली नगरपालिका–५ मा सामाजिक सेवा एकाई कार्यक्रममार्फत जिल्ला अस्पताल दार्चुलामा कार्य क्षेत्र बनाइ कार्य भइरहेको छ ।
यस्तै सन् २०२४ मा ट्रोसा परियोजनाका लागि ९७ लाख ६ हजार ३७८ रकम सम्झौता भएकोमा ६४ लाख ३५ हजार ८४७ रकम खर्च भएको छ । ईजीएलमा १ करोड ७६ लाख ६३ हजार २०३ रकम सम्झौता भएकोमा २० लाख २८ हजार ५५४ खर्च भएको छ । आइसीडीपीमा १ करोड २६ लाख ६ हजार ५२७ रकम सम्झौता भएकोमा १ करोड ९ लाख २३ हजार ७०८ रकम खर्च भएको जनाइएको छ ।
यस्तै ८ लाख ६९ हजार ६१० रकम सम्झौता भएको सामुदायिक सेवा एकाई कार्यक्रममा ७० हजार ३३६ रकम खर्च भएको छ । इमरजेन्सी फ्लुड रेस्पोन्स प्रोजेक्टका लागि ५ लाख ८० हजार ५४९ रकम सम्झौता भएकोमा ५ लाख ८० हजार ४९ नै खर्च भएको संस्थाले संस्थागत वित्तिय प्रगतिमा देखाएको छ । यस्तै २०८०÷०८१ मा ४ लाख ८९ हजार ७९२ रुपैयाँ राजस्व दाखिला गरिएको संस्थाले जनाएको छ ।
सीआरडीएस नेपालका संचालक समिति सचिव प्रेम चुनाराको अध्यक्षतामा भएको परियोजना सल्लाहकार समितिको बैठक तथा संस्थागत समाजिक लेखा परीक्षण कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कार्यकारी निर्देशक अशोक राज ओझाले राख्नुभएको थियो भने वरिष्ठ कार्यक्रम संयोजक मान सिंह कार्कीले सञ्चालित कार्यक्रम तथा संस्थाले गरेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहराले गर्नुभएको थियो ।
कार्यक्रममा परियोजना लागू भएका स्थानीय तह महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, दुुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल,उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामी, उपाध्यक्ष शान्ती बम, तीन वटै स्थानीय तहका तहका शिक्षा तथा खेलकुद शाखा प्रमुख, साझेदारी गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, अन्य सरोकारवाला संस्था, पत्रकार लगायतको सहभागिता रहेको थियो ।






