हिमाली जडीबटुी संरक्षण र दिगो व्यापार परियोजनामा यसरी छनोट हुँदैछ पालिका

हिमाली जडीबुटी संरक्षण र दिगो व्यापार परियोजना सञ्चालनको लागि दार्चुलाका पाँच वटा पालिका सम्भावित सूचीमा परेका छन् । ९ वटा स्थानीय तह रहेको जिल्लाका २ हजार मिटर उचाईमा रहेका पालिका पहिलो प्राथमिकतामा राखेर छनोट प्रकृया थालिएको हो ।
भौगोलिक दायरका आधारमा ४० प्रतिशत भूभाग २ हजार मिटर उचाईमा छ भने परियोजना लागू गर्न सकिने मापदण्ड बनाइएको छ । जसअनुसार व्याँस गाउँपालिका सत प्रतिशत, अपिहिमाल गाउँपालिका ९५ प्रतिशत, नौगाड गाउँपालिका ६९ प्रतिशत, मार्मा गाउँपालिका ६३ प्रतिशत तथा दुहुँ गाउँपालिका ६२ प्रतिशत भूभाग उच्च भेगमा रहेको परियोजनाका वन अधिकृत सुशिला भट्टले जानकारी दिइन् ।
यस्तै तोकिएका लक्षित जुडीबुटीको उपलब्धता, संघ, प्रदेश, स्थानीय तह र नीजि क्षेत्रको प्राथमिकता, सामुदायिक वनका उपभोक्ता संख्या, सामुदायिक वनको क्षेत्रफललाई पनि पालिका छनोटको आधार मानिएको छ । यसैगरी सामुदायिक वनको क्षेत्रफल बढाउन सकिने सम्भावना, सहजता, उपभोक्ताको जडिबुटीमा निर्भरता, सामुदायिक वनको नविकरणको अवस्था तथा परम्परागत प्रयोग र सांस्कृतिक महत्व पनि छनोटको आधार मानिएको उनले बताइन् ।
जिल्लामा पाइने विभिन्न जडीबुटी जटामसी (भुल्तया), कटुकी, अत्तीस, सतुवा,पदमचाल्ना,सेतो चिनी, पाँच औंले, गुच्ची च्याउ, यार्चा लगायतका जडीबुटी पाउने आधारमा मानिएको छ ।
सामुदायिक वन उपभोक्ता समिति महासंघ दार्चुलाका अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्य तथा व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवरको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार एवं सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार