पक्की संरचना निर्माणको क्रममा अहिले भारतले पटकपटक आफ्ना निर्माण सामाग्री नेपालतर्फ छिराए पछि फेरि एकपटक दार्चुलामा सीमा नदिको विषयमा तनाव सिर्जना भएको छ । आइतबार बिहान ११ बजे सदरमुकाम खलंगाकै बीरेन्द्र वन क्षेत्र नजिकैबाट भारतीय स्काभेटर नेपालतर्फ छिरेपछि सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिए ।
नियन्त्रणमा लिएको स्काभेटर र चालक भास्कर पाठकलाई छ घण्टा नियन्त्रणमा लिएपछि भारतलाई फिर्ता गरिएको छ । भारत पिथौरागढ जिल्ला अधिकारी आनंद स्वरुप तथा धारचुला उपजिल्ला अधिकारी अनिल शुक्लले निरन्तर टेलिफोन गरे पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले बेलुकी ४ बजे चालक र स्काभेटरलाई फिर्ता पठाएको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एकपाइलो सँगभने, ‘हामीलाई पूर्व सूचनाबीनै पटकपटक मेसिन नेपालतर्फ छिराएको सूचना लगत्तै चालक र स्काभेटर नियन्त्रणमा राखिएको थियो ।’ सीमा नदि क्षेत्रमा काम गर्दा आपसी समन्वय गर्नुपर्ने थियो, । बेलाबेला कहिले नमस्कार क्षेत्र, बीरेन्द्र वन, बंगाबगड र श्रीवगड लगायतका क्षेत्रमा बेलाबेला मेसिन नेपालतर्फ आउने गरेको थियो ।
धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुंगा आफ्नो भूमिमा सारेको छ । नेपालले ०७० को बाढिपछि आफ्नो भूमि समेत छोडेर तडबन्ध निर्माण ग¥यो, स्थानीय भन्छन्, भारतले हाम्रोभूमितर्फ आएर तडबन्ध निर्माण गर्छ । नदिको बहाव पूरै नेपालतर्फ फर्काउने काम भारतीय पक्षले गरेको दार्चुलाबासीको आरोप छ ।
नदिकोबीच भागमै गएर तडबन्ध निर्माण गरेको विषयमा बेलाबेला विवाद हुँदै आएको छ । दुई वर्ष नेपाल र भारतीय पक्षबीच तडबन्ध निर्माणकै विषयमा ढुंगा हानाहान भएको थियो । भने सशस्त्र प्रहरी बलले भारतीय स्काभेटरको चावी नियन्त्रणमा लिएको थियो ।
अहिले पनि भारतले दार्चुलाको श्रीवगड क्षेत्रमा नेपाली पक्षले निर्माण गरेको तडबन्धमा अवरोध गर्ने गरेको भन्दै स्थानीयले प्रशासन गुहार्दै आएका थिए । दुवै क्षेत्रका अधिकारीबीच भएको छलफलपछि श्रीवगडमा तडबन्ध निर्माणमा भारतीय पक्षले अवरोध नगर्ने सहमति भएको नेपालका अधिकारी बताउँछन् ।
दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउने गरेको भन्दै स्थानीयले खुलेरै विरोध गरे । भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको भन्दै सुरक्षाकर्मीसँगै स्थानीय फिल्डमै पुगेर विरोध जनाए ।
महाकाली नदीमा तटबन्ध गरिरहेको भारतले नदीको धार नेपालतर्फ फर्काउन केही समययता काम गरिरहेको थियो । नेपाली सर्वसाधारणले कटान भएको नेपाली भूभागसमेत भारततर्फ पर्ने हिसाबले भारतीय पक्षले तटबन्ध निर्माण र नदी डाइभर्सनको काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।
स्थानीयले भने तटबन्ध गर्ने नाममा भारतीय पक्षले महाकाली नदीमा दादागिरी गरिरहेको बिशन बोहरा बताउँछन् । यो देशसँगको विरोध होइन्, उनले भने, प्रवृत्ति ठिक भएन भन्ने हो ।
स्थानीय सुरेश ठगुन्ना भारतीय पक्षले सीमा क्षेत्रमा मनलाग्दी गर्दै आएको भन्दै आक्रोश व्यक्त गर्छन् । उनी भन्छन्, ‘नेपालले नियन्त्रणमा लिएको मेसिन फिर्ता गर्नुहुँदैन् । यो नेपालीमाथिको हेपाहा हो ।’
नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको नागरिक समाजका अध्यक्ष महेश भट्ट बताउँछन् । हिउँदमा महाकाली नदीमा पानीको सतह घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाएको छ ।
दार्चुलाका पत्रकार शंकर धामी सीमा क्षेत्रमा काम गर्दा दुवै क्षेत्रमा आपसी सूचना आदानप्रदान हुनुपर्ने बताउँछन् । विकास निर्माण नगर भन्न मिल्दैन् उनले भने कम्तीमा समन्वय हुनुपर्छ । यो रवैया प्रवृत्ति राम्रो होइन् ।
प्रमुख जिल्ला अधिकारी जोशी दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फि गर्दा समस्या उत्पन्न भएको बताउँछन् । आजको विवादका कारण श्रीवगडको समस्या पनि समाधान भएको छ, उनले भने ।