टिंकर सडकको नाममा भइरहेको हवाई भ्रमणप्रति जिल्लाबासी छैनन् खुसी

दार्चुलाको उत्तरी नाका जोड्ने गरी महाकाली करिडोर अन्तर्गत दार्चुला टिंकर सडक निर्माणको चर्चा भएको लामै भएको छ । भारतसँग सीमा नदी महाकाली किनारैकिनार भएर बन्ने दार्चुला टिंकर सडक निर्माणमा बजेट अभाव र राजनीतिक दलको इच्छा शक्ति नहुँदा कार्यप्रगति भने निकै सुस्त छ । हरेक पटक सडकको हवाई निरीक्षण गर्न मन्त्री आउने तर बजेट विनियोजन गर्दा विर्षिने परिपाटीले अहिले जिल्लाबासी निराश छन् ।
कञ्चनपुरको महेन्द्रनगर देखि दार्चुलाको टिंकर जोड्ने गरी महाकाली करिडोर निर्माण भइरहेको छ । कुल ४२५ किलोमिटर सडकमध्ये २०७७ सालमा व्याँसको तुसरपानी देखि टिंकरसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सडक निर्माणले गति लिएको छैन् ।
सडक निर्माणले गति नलिएको बेला बुधबार मात्रै संघीय सरकारका दुई जना मन्त्री र एक जना पूर्वमन्त्री सहित उच्चपदस्थको टिंकर सडकको हवाई निरीक्षण भ्रमण भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु गागा पुगेका रक्षामन्त्री मानबीर राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, दार्चुलाबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र नेपाली सेनाका महारथी अशोकराज सिग्देल लगायत मन्त्रालयका सचिवहरु भ्रमणमा थिए ।
२०७७ सालमा दार्चुला टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि दार्चुलाका नागरिक अति उत्साहित भएको व्याँस गाउँपालिका–४ का स्थानीय पानसिह कुवरले बताए । तर जुन प्रकारको उत्साह थियो, त्यो प्रकारको काम सेनाबाट पनि अघि बढ्न सकेन् ।
सेनाले व्याँस गाउँपालिका–३ को तुसरसपानी देखि टिंकरसम्मको ७९ किलोमिटर सडक सेनाले जिम्मेवारी पाएको थियो । तर सेनाले जिम्मा लिएको तीन वर्षवित्दा पनि आशालाग्दो गति सडक निर्माणले नलिएपछि स्थानीय निराश मात्र होइन आक्रोशित बनेका छन् ।
सेनाले अहिलेसम्म १३ किलोमिटर सडकको मात्रै ट्याक खुलाएको छ । सेनाले ०८८।०८९ सालभित्र निर्माण सक्ने लक्ष्य बनाएको थियो । तर अहिलेको गति हेर्ने हो भने यो सडक बन्न ३० वर्ष बढि लाग्छ । हरेक वर्ष बजेट घट्दै गएपछि स्थानीयले अब सडकको सपना देख्नुमात्रै भएको स्थानीय इन्द्रदत्त भट्टको भनाई छ । यहि गतिले हाम्रा नाती पुस्तासम्म पनि सडक माथि उक्लिने छाँटकाट देखिदैन् उनले भने ।
चालू आर्थिक वर्षमा १.८ किलोमिटर सडकको मात्रै नयाँ ट्रयाक तथा १.२ किलोमिटर सडक स्तरोन्नती गर्ने सेनाको लक्ष्य छ । हरेक वर्ष नयाँ मन्त्री आउने वित्तिकै हेलिकप्टर लिएर घुम्नै मात्रै दार्चुला पुग्ने गरेकोमा जिल्लाबासी आक्रोशित छन्, व्याँस ४ का स्थानीय धनसिह धामी भन्छन्, हेलिकप्टर देखाउन मात्रै आउने हुन कि बजेट ल्याएर आउने हुन् । यो हवाई भ्रमण गर्नुको सट्टा बजेट विनियोजन गरेर काम गराएको भए जिल्लाबासी खुसी हुन्थ्ये ।
अहिले सेनाले निर्माण गरिरहेको दार्चुला टिंकर सडकको जिरो प्वाइन्टबाट आशालाग्दो सडक बनेको छैन । अहिले सेनाले निर्माण गरिएको सडकको १ किलोमिटरसम्ममा मात्रै ट्याक्टर गुड्न सक्ने अवस्था छ । सडक निरीक्षणमा आउने तर केन्द्र पुग्ने वित्तिकै यहाँको बोलिएका कुरा विर्षने रोग छ ।
चीनसँगको सीमा जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरबको सडक योजनामा केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण हुन सकेको छैन् । सडक निर्माण मुखमा मात्रै भन्ने तर व्यवहारमा बजेट विनियोजन नगर्दा यो सडक जस्ताको त्यस्तै अवस्थामा रहेको बताउँछन्, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामी । उनी भन्छन्, हेलिकप्टरमा फनफनि घुम्छन्, तर सडकको हालत जस्ताको त्यस्तै देखिन्छ ।
निरन्तर भ्रमण भइरहने, तर बजेट प्राथमिकतामा कहिल्यै नपर्ने भएकै कारण दार्चुला टिंकर सडकले गति नलिएको प्रष्टै छ । अहिले भएको भ्रमणमा स्थानीयले जति खबरदारी गरेका छन्, अब मन्त्रीको भ्रमणपछि जिल्लाबासीको अपेक्षाअनुरुप बजेट विनियोजन गरेर सडकले गति लिने गरी काम अघि बढ्नुपर्छ ।
दार्चुलाका जनप्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडू अहिलेको भ्रमणबाट आफु आशावादी रहेको सुनाउँछन् । पूर्वमन्त्रीसमेत रहेका बडू भन्छन् यो भ्रमण निकै उपलब्धि भएको मैले ठानेको छु । पाँच वर्षभित्रै निर्माण सक्ने गरी बजेट विनियोजन गर्ने र छुट्टै योजनामार्फत निर्माण सक्ने मन्त्री ज्यूहरुले प्रष्टै भनेका छन् । यस्तो अवस्थामा अब सडकको लागि निरन्तर खबरदारी गरिरहने उनको भनाई छ ।

सम्बन्धित समाचार

ताजा समाचार