व्याँस गाउँपालिका–१ का स्थानीयले दार्चुला–टिंकर सडक निरीक्षणमा आएका मन्त्रीको टोलीलाइ बाटो र सडक चाडो बनाउन माग गरेका छन् । सडक निरीक्षणको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु गागा पुगेका रक्षामन्त्री मानबीर राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, दार्चुलाबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र नेपाली सेनाका महारथी अशोकराज सिग्देललाई तत्काल नेपालतिरको गाेरेटो बाटो र सडक बनाउन स्थानीयले माग गरेका हुन् ।
मन्त्रीको टोलीले छाङगरुमा स्थानीयसँग १५ मिनेट छलफल गरेका थिए । सो क्रममा व्याँस गाउँपालिका–१ का स्थानीय योगेशसिह बोहराले मन्त्रीहरुलाई स्थानीयको चाहना नेपालतर्फ कम्तीमा गाेरेटो बाटो भए पनि खोलिदिनु पर्छ । उनले भने, ‘हामीले हरेक वर्ष खलंगा आउँजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपरेको छ ।’
‘पटकपटक भीआइपी भ्रमण भन्दै हेलिकप्टरमा सवार हुन्छौ, तर यहाँबाट फर्केपछि समस्या बिर्षिन्छौं, बोहराले भने, ‘अहिले पनि यस्तै अवस्था भयो भने दोस्रोपटक व्याँसमा आउन निषेध गर्छौ । यो हाम्रो खबरदारी मात्र होइन् चेतावनी पनि हो ।’
‘कालापानीको नाममात्रै लिने, तर जनताको लागि गाेरेटोबाटो समेत बनाउन सक्दैनौ भने यहाँ किन आउँछौ । पटकपटक हेलिकप्टर लिएर आउने खर्चले यहाँको बाटो खुल्थ्यो होला, आक्रोश पोख्दै,’ उनले भने ।
राष्ट्रियताका कुरा गर्ने तर जनताको समस्या नबुझ्ने हो भने यो क्षेत्रका नाम लिनै छोडिदिनुस् उनले भने । अहिले पनि कुञ्चा सर्दा स्थानीयले दुख पाए । सामान बजारसम्म लिन पाएका छैनन् । नेपालतिर हिड्न बाटो छैन् । नेपाली सेनाले चाडो सडक बनाउने आशा थियो, तर त्यो पनि काम भइरहेको छैन् । स्थानीय आक्रोशित हुँदै भने । यस्तै हो भने लखेटिने दिन आउँला ।
बोहराले भने, ‘अब नेपाली सेनाले निर्माण गरिरहेको तुसरपानी–कोठेधार–टिंकर सडकलाई छुट्टै आयोजनाको रुपमा अघि बढाउनुपर्छ ।
यता व्याँस गाउँपालिका–४ सुनसेराका स्थानीयले पनि नेतृत्वप्रति खबरदारी गरेका छन् । राष्ट्रिय गौरबको योजना भनिएको छ । अहिलेसम्म १३ किलोमिटरमात्रै सडकको कहिकहि ट्रयाक खुलाइएको छ । सेनाले निर्माण गरिरहेको ७९ किलोमिटरको जीरो प्वाइन्ट देखि एक दुई किलोमिटरसम्म ट्याक्टर जान सक्ने अवस्था छ ।
नेपाली काग्रेस व्याँसका सभापति समेत रहेका नरेन्द्रदत्त भट्ट महाकाली करिडोर अन्तर्गत सुनसेरासम्म पनि नियमित यातायात सञ्चालन हुन नसकेको बताउँछन् । तीन महिना बल्लतल्ल ट्याक्टर गुड्न सक्ने अवस्थाको सडक छ । सेनाले चाडो बनाउँला सोचेको सडक पनि उस्तै छ ।
व्याँसका सबै वडाका स्थानीयले अहिले पनि भारतीय बाटोमा निर्भर रहनुपरेको भन्दै भट्टले यस्तो अवस्थाको अन्त्य गर्न आग्रह गरे । ‘पटकपटक हेलिकप्टरमार्फत नेता आएर यहाँको विकास हुनेवाला छैन्,’ उनले भने, ‘यो ठाउँको सडकको ट्रयाक खुलाउन बजेट दिनुप¥यो ।’ हरेक वर्ष सडकमा बजेट घटाउँदै लगेकोप्रति उनले आक्रोश व्यक्त गरे । गौरबको सडक भन्ने तर बजेट नै नपठाएपछि कसरी सडक टिंकरसम्म पुग्छ ।
उत्तर–दक्षिण जोड्ने सडकमा प्रयाप्त बजेट नहुँदा यो सडकले गति लिन सकिरहेको छैन् । त्रीदेशीय सडकको रुपमा रहेको दार्चुला–टिंकर सडक सामारिक महत्व बोकेको सडक पनि हो । तर हरेक वर्ष थोरै बजेटले गर्दा लक्ष्य अनुसार सडकको प्रगति हुन सकिरहेको छैन् ।
नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किमि छ । अहिलेसम्म सेनाले १३.५९ किमि मात्र ट्रयाक खुलाएको छ ।
यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ९ करोड रुपैयाँ बजेट मात्रै विनियोजन गरेको छ । उक्त रकमले १.८ किमि नयाँ ट्रयाक खोल्ने र १.२ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ ।
यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किमि छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८÷८९ भित्र उक्त खण्डको ट्रयाक खोल्ने काम सकिसक्नुपर्नेछ ।
यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङ्गरु, टिंकर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । अहिले पनि टिंकरका स्थानीय भारतीय बाटो हुँदै खलंगा बसाई सरेका छन् ।
नेपालतिर हिड्नलाई समेत घोरेटो बाटो राम्रो छैन् । पशुचौपाया ल्याउन र मान्छे हिड्न नेपालबाट सम्भव नभएपछि भारतीय बाटो हुँदै खलंगा झर्नुपर्ने बाध्यता रहेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहरा बताउँछन् ।
व्याँसका स्थानीय भने यो सडक निरीक्षण गर्न पटकपटक हेलिकप्टरमार्फत मन्त्री आए पनि प्रगति नभएकोमा दुखेसो गर्छन् ।
