दार्चुलामा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिह धामीका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री जिल्ला आइपुगेको छ । मतपछ र निर्वाचन सम्बन्धि सम्पूर्ण सामाग्रि जिल्ला पुगेको छ, उनले भने, मतदान अधिकृतलाई बुझाउन बाँकी छ ।
मतदान अधिकृतहरु र सहायक मतदान अधिकृतहरुको लागि तालिम बुधबार सञ्चालन गरिएको छ । दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोरामा मतदान स्थल तोकिएको छ भने क र ख मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकृत धामीले बताए ।
एउटा मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् । जसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र एक जना स्वयंसेवक खटिनेछन् ।
दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडाअध्यक्षको लागि चार जना एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो । मृत्यु भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो ।
