दैभात नाम जति सुन्दर छ, त्यो भन्दा सुन्दर छ यहाँको बस्ती । चारैतिर डाडाले घेरिएको बीच भागमा सुन्दर गाउँको नाम हो दैभात । यो बस्ती विकास भएको धेरै भएको छैन् । २०४५ सालपछि दैभातमा मानव बसोबास सुरु भएको हो ।
तत्कालीन प्रधान डम्बरसिह धामीले दैभातमा बस्ती बस्न सुरु गरेका हुन् । एक घरबाट सुरु भएको दैभातमा अहिले झण्डै २३ परिवारको बसोबास छ । जङ्गल फडानी गर्दै बस्ती विकास सुरु भएको थियो ।
तर यो वस्ती जति सुन्दर भए पनि यहाँ पुग्न भने निकै सकस छ । राज्यले विकास निर्माणमा चासो नदिदा यो वस्ती विकटाताको मारमा छ । राज्यले यो ठाउँमा एउटा विद्यालय बाहेक अरु केहि पु¥याउन सकेको छैन् । समग्रमा भन्नुपर्दा दैभात गाउँमा एउटा आधारभूत विद्यालय बाहेक अरु सेवा सुविधाबट नागरिक बञ्चित छन् ।

आधारभूत स्वास्थ्य सेवाबाट नागरिक बञ्चित
संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् । यस्तै उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहँुँचको हक हुनेछ भनिएको छ । तर अपिहिमाल गाउँपालिका–२ दैभातका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित छन् ।
वर्षौदेखि उनीहरुले आधारभूत स्वास्थ्य सेवाको पहुँचसम्म पाउन सकिरहेका छैनन् । दैभात गाउँबाट वडा कार्यालय र घुसा स्वास्थ्य चौकीसम्म पुग्न कम्तीमा चार घण्टा बढि हिड्नुपर्छ । जङ्गगलको बाटो भएर एक्लै हिड्न सकिने अवस्था छैन् ।
स्थानीय भरतसिह धामी भन्छन्, ‘चिसो लागेर टाउँको दुखि हाल्यो भनेपनि सिटामोल पाउन सकिने अवस्था छैन् ।’ पालिकामा निर्माण भइरहेको दश सैय्याको अस्पताल पुग्न एक दिन लाग्ने अवस्था छ । पालिकाले निर्माण गरिरहेको अस्पतालमा पालिकाभित्रका वडा नम्बर १, २, ५ र ६ का नागरिकले सेवा पाउन सक्ने अवस्था छैन् ।
दैभातबाट मकरिगाड पुग्न ४ घण्टा नै हिड्नुपर्छ । मकरीगाडमा गाडीबाट मार्माको सिमार वा लटिनाथ अस्पताल पुगेर विरामीले उपचार गराउनुपर्ने बाध्यता रहेको धामीको भनाई छ । जटिल विरामी भयो भने बाटोमै ज्यान जाने खतरा हुन्छ ।
प्राथमिक उपचार गर्न समेत गाउँमा आधारभूत स्वास्थ्य इकाई समेत स्थापना गरिएको छैन् । थोरै परिवार भए पनि राज्यले नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन नसकेको उनको भनाई छ ।

गाउँ छोड्ने बढे
दैभात गाउँमा २३ घरधुरीमा जनसंख्या झण्डै १८७ जना छन् । तर अहिले गाउँमा मुस्किलले ६० जना होलान्, विद्यालयका प्रधानाध्यापक समेत रहेका भरतसिह धामी भन्छन्, ‘गाउँमा सेवा सुविधा केहि नहुँदा बालबालिका र ठूलो उमेर भएकाहरु गाउँ छोडेर गएका छन् ।’
यहाँ कक्षा ५ सम्म मात्रै पढाई हुन्छ । विद्यार्थी संख्या न्यून छ । कक्षा ६ देखि बाहिर पढ्नुपर्छ । शिक्षा स्वास्थ्य नै गाउँमा नभएपछि बाध्यताबस पनि बाहिर लगेर पढाउनुपर्ने अभिभावकको बाध्यता छ । बालबालिकाको रेखदेखि गर्न अभिभावक सँगै जानुपर्ने हुँदा गाउँमा मान्छे थोरै छन् ।
घरमा एक जना, दुई जना बढिमा चार जनासम्म मात्रै भेटिन्छन्, स्थानीय प्रकाशसिह धामीले भने । कुनै घट्ना भइहाल्यो भने पनि मान्छे पाउन मुस्किल हुने अवस्थामा पुगेको छ । विकासको अनुभूति नागरिकले नपाएकै कारण यहाँ दिनप्रतिदिन स्थानीयले गाउँ छोड्नुपर्ने बाध्यता भएको धामी बताउँछन् ।
दैभात गाउँ पुग्न सजिलो बाटो भने कहिबाट पनि छैन् । अपिहिमाल गाउँपालिका–२ घुसाबाट दैभात पुग्न पनि उकालो बाटो पर्छ । वडा नम्बर ५ मकरीगाडबाट दैभात पुग्न ६ घण्टा बढि उकालो चढ्नुपर्छ । वडा नम्बर ६ को सितोलाबाट पनि उस्तै उकालो चढे मात्रै दैभात गाउँ पुग्न सकिन्छ ।
‘मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्न र मान्छे हिड्ने राम्रो घोरेटो बाटो चाहिने छ,’ धामी भन्छन्, ‘दैभातबासीले सडक सपना देखेका छैनन् तर राम्रो बाटो भए पनि समयमै विरामीले उपचार पाउथे । खाद्यान्न दैनिक उपभोग्य वस्तु ढुवानी सस्तो हुने थियो ।
नागरिकले मकरीगाडमा ५५÷६० रुपैयाँमा मोटो चामल किन्छन् । मकरीगाडबाट मान्छेले ढुवानी गर्ने हो भने, ६० रुपैयाँ प्रतिकिलो भाडा लाग्छ, प्रकाशले भने, आर्थिक अवस्था कमजोर भएकाहरुले कसरी खाद्यान्न जोहो गर्न सक्छन् । खच्चडबाट ढुवानी गरे पनि २० रुपैयाँ पर्छ । यो ठाउँमा खच्चड हिड्ने समेत राम्रो बाटो नहुँदा मुस्किलले ढुवानी हुन्छ ।
आयस्रोतको रुपमा जडिबुटी मात्रै हो । गाउँको उत्पादनले छ महिना पनि खान पुग्दैन् । जिल्लाभरि विद्युतीकरणको काम भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पु¥याउने कुनै सुरसार छैन ।

विद्यार्थी संख्या न्यून
शिशु कक्षादेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सिद्धनाथ आधारभूत विद्यालय दैभात विद्यार्थी संख्या न्यून छ । २०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी संख्या १६ जा मात्रै छन् ।
विद्यालयका प्रधानाध्यापक भरतसिह धामीका अनुसार शिशु कक्षामा ३ जना, कक्षा १ मा ३ जना, कक्षा २ मा ३ जना, कक्षा ३ मा २ जना, कक्षा ४ मा ३ जना र कक्षा ५ मा २ जना विद्यार्थी अध्ययरत छन् । विद्यालयमा २ जना राहत, १ जना पालिका, १ जना बालविकास शिक्षक र १ जना कार्यालय सहयोगी छन् ।
धेरैले बालबालिका अभिभावकसँगै धनगढी, दार्चुला लिएर गएपछि विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको हो । माथिल्लो कक्षामा अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता भएपछि अभिभावकले गाउँभन्दा सहरमै पढाउन बालबालिका लिने गरेको प्रधानाध्यापक धामीको भनाई छ ।
विद्यार्थीको दिवा खाजा खुवाउन पनि विद्यालयलाई निकै समस्या भएको उहाँले बताउनुभयो । मकरीगाडबाट दिवा खाजा ल्याउनुपर्छ । गाउँपालिकाले प्रतिकिलो १० रुपैयाँ भाडा दिएको छ । तर मकरीगाडदेखि दैभातको भाडा मान्छे भए ६० तथा खच्चडले प्रतिकिलो २० रुपैयाँ लने गरेको छ । अहिले विद्यार्थीलाई जेनतेन गरेर खाजा खुवाउने गरिएको उनले बताए ।