चिसो छल्न पशु चौपायासहित बेसी झरे सौका समुदाय

चिसो मौसम शुरु भएसंगै व्याँस गाउँपालिका–१ टिंकरका व्याँसी सौका समुदाय पशुचौपायासहित खलंगा झरेका छन् । गर्मी मौसममा टिंकर उक्लिएकाहरु हिमाली भेगबाट चिसो छल्नका लागि सदरमुकाम खलंगा झरेका हुन् ।
दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको बसाइसराईलाई उनीहरुको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । सौका समुदाय गत मंसिर पहिलो साता गर्मी छल्न थातथलो टिंकर उक्लिएका थिए । अहिले अत्यधिक चिसो बढेपछि स्थानीयले बसाई सराई गरेका हुन् ।
टिंकरका ३५ बढि परिवार आइतबार खलंगा पुगेको व्याँस गाउँपालिका–१ का वडा सचिव विनोदसिह बुढाथोकीले बताए । गाउँमा चिसो अत्यधिक बढ्यो । हिमपात हुने अवस्था आएपछि स्थानीयले कुञ्चा सारेका हुन् ।
सदरमुकाम खलंगाबाट २८ कोष उत्तरमा व्याँस पर्दछ । ३७०० मिटर उचाइको टिंकरका सौका समुदाय हरेक वर्ष ६ महिना बेंसीतिर र ६ महिनामात्रै गाउँमा बसोबास गर्ने गर्दछन् । पशुपालन र व्यापार गर्दै आएका सौका समुदायको खलंगा र टिंकरमा बसोबास हुने गर्दछ ।
एक साता लगाएर टिंकरको कुञ्चा खलंगा पुगेको व्याँस गाउँपालिका–१ का दानसिह तिकरीले बताए । योपटक पशुचौपाया ल्याउँदा निकै कष्टकर भयो । छाङ्गगरु सीतापुलमा नेपालतर्फ र भारततर्फ भन्सार छैन् । सीमा पुलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततर्फ एसएसबीले सुरक्षा गर्ने गर्छन् । योपटक चीनसँगको सीमा नाका टिंकर खुलेका कारण चाइनिज समान खलंगा ल्याउँदा दुख भएको स्थानीय बताउँछन् ।
भन्सार राख्न नसक्ने, सर्वसाधारणले आवतजावत गर्दा दुख मात्रै दिने काम गरे, एक स्थानीयले भने, चाइनिज समान लिन पाइदैन लगायतका अनेक बहाना बनाएर दुख दिने काम भयो ।
आफ्नो भूगोल भएर घोरेटो बाटो समेत नहुँदा सर्वसाधारणले आवतजावतमा सास्ती झेल्नुपरेको तुला तिंकरी बताउँछन् । छाङ्गरु र टिंकर जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । मान्छे भए त गाडीमा चार घण्टाको यात्रा हो । तर पशुचौपाया ल्याउँदा समस्या हुने गरेको उनले बताए । पशुचौपायासँगै छ महिना पुग्ने राशन समेत सँगै ल्याउनुपर्छ । गाउँमा उब्जाउ गरेको अन्न खलंगामा खान मिल्छ । बाटो नभएकै कारण हरेक पटक कुञ्चा सर्दा समस्या हुने गरेको उनले गुनासो गरे ।
‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ,’ अर्का स्थानीय मोहनसिंह तिंकरीले भने, ‘गाईबस्तुको क्वारेन्टाइन चेक गर्नुपर्छ, ठाउँ–ठाउँमा भारतीय सुरक्षाकर्मीको हैरानी खेप्नुपर्छ । नेपालतर्फ बाटो भइदिए सहज आउजाउ गर्न पाइन्थ्यो ।
पशुचौपाया र सरसामानसहित वैशाख पहिलो साता भारतकै बाटो खलंगाबाट थातथलो टिंकर उक्लिएका थिए । दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको ब्यासको छाङ्गगरुमा गाउँमा १ सय ४० र टिंकरमा ७१ परिवारको बसोबास छ ।
छाङ्गरुका ३ परिवार मात्रै सदरमुकाम खलंगा पुगेका छन् । उनीहरु यो दोस्रो साताभित्र खलंगा झर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडा अध्यक्ष अशोकसिह बोहराले बताए । टिंकरमा बढि जाडो हुने भएका कारण छिटो खलंगा झर्छन्, उनले भने, छाङ्गरुका स्थानीय केहि दिनमा खलंगा झर्ने तयारीमा छन् ।
छुट्टै मौलिक सांस्कृतिक पहिचान भएका ब्यासी सौका समुदाय दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङ्गगरु, टिंकर, वडा नम्बर –२ को दुम्लिङ, राप्ला र अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ सितोला गाउँमा मात्र बसोबास छ ।

सम्बन्धित समाचार

ताजा समाचार