अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना

सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । अपिहिमाल गाउँपालिका–४ पालिका केन्द्र नजिकै खण्डेश्वरीमा हुलाक कार्यालय स्थापना गरिएको हो ।
अपिहिमाल गाउँपालिकामा उपाध्यक्ष देवकी बोहरा, प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावल र जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बीरेन्द्रसिंह धामीको उपस्थितिमा हुलाक कार्यालयको स्थापना गरिएको छ ।
पालिका हुलाक कार्यालय स्थापनाको थालनी शैल्यशिखर नगरपालिकाबाट सुरु भएको थियो । मंगलवार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा हुलाक कार्यालय स्थापना गरिएको हो । बुधवार मार्मा गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ ।
पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिने निमित्त हुलाक अधिकृत धामीले जानकारी दिए । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो ।
दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र जिल्लाका ८ पालिकामा हुलाक कार्यालय स्थापना गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार