जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल निर्माणमा भइरहेको ढिलाईले अस्पताल व्यवस्थापन तथा सञ्चालनमा समस्या भएको छ । निर्धारित समयमै अस्पताल भवन निर्माण नहुँदा जटिल अप्रेशन लगायतका कामकामज गर्नै समस्या भएको हो ।
अस्पतालको भौतिक पूर्वाधार अभाव र जनशक्तिमा कमी हुँदा प्रभावकारी सेवा प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ । भवन अभावले अहिले विरामीलाई सानो ठाउँमा राख्दा रोग सर्ने जोखिम उतिकै रहेको स्थानीय बताउँछन् ।
‘भवन अभाव एकातिर छ भने जनशक्ति अभाव उस्तै छ, दक्ष जनशक्ति बर्षौदेखि आउँदैनन्,’ स्थानीय सरोज धामीले भने, ‘बाहिरपट्टी भवन निर्माण छ, भित्र विरामीले कोचिएर बस्नुनपर्ने बाध्यता छ ।’
महाकाली नगरपालिका–८ का विपिन विष्ट दक्ष जनशक्ति अभावले जिल्लामै उपचार गराउन सक्ने बिरामीहरू प्रदेश राजधानी धनगढी र भारतका अस्पतालसम्म धाउन बाध्य हुनुपरेको बताउँछन् ।
अस्पतालमा मेडिकल सुपरिडेन्ट नभएको वर्षौ भइसक्यो । जिल्लामा दरबन्दी भएका डाक्टर पनि बाहिर छन् । जसको कारण जिल्लाबासीले सामान्य उपचारको लागि पनि बाहिर जानुपर्ने बाध्यता आएको हो ।
अहिले अस्पताल अस्थायी टहारा निर्माण गरेर सञ्चालनमा छ । विरामीहरुको चेकजाँच तथा उपचारको लागि ठाउँ अभाव छ । जिल्ला अस्पताल दार्चुलाका कार्यालय प्रमुख डाक्टर सञ्जीव श्रेष्ठ अस्थायी भवनमा अस्पताल सञ्चालन भएको भए पनि सोचेअनुसार सेवा प्रवाहमा समस्या भएको सुनाउँछन् ।
उनले भने ‘अस्पतालमा विभिन्न अप्रेशन पनि हुन्छ, तर अप्रेशन गरेका विरामीलाई अर्को ठाउँमा सार्न पनि कच्ची संरचना छ । जसले विरामीलाई जोखिम हुने खतरा हुन्छ ।’ ठाउँ अभावकै कारण सबै प्रकारका सेवालाई प्रभावकारी बनाउन नसकिएको उनले बताए ।
निर्माणाधीन अस्पताल अहिलेकै अवस्थाले हेर्दा तोकिएको अवधिमा अझै सम्पन्न हुने छाँटकाट छैन् । भवन निर्माण चाँडो सम्पन्न गर्न सके सेवा प्रवाह गर्न र अप्रेशन लगायतका सेवा सुविधामा समेत सहज हुने छ डाक्टर श्रेष्ठको भनाई छ ।
१५ सैय्याको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै ५० सैय्या पु¥याउने उद्देश्य अनुरुप भवन निर्माण भइरहेको हो । अहिले हामी सीमित पूर्वाधारबाट सेवा प्रवाह गरिरहेका छौं जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर भट्टले भने, भवन निर्माण नहुन्जेल विरामीको उपचारमै समस्या नै छ । उनले थपे, ‘यहाको समस्या भवन मात्रै नभई निर्माणपश्चात अस्पतालमा चाहिने जनशक्ति टिकाउनु महत्वपूर्ण हो ।’ जिल्लामा विशेषज्ञ डाक्टर अभाव जहिल्यै हुन्छ । यसको लागि पहल सबैले गर्नुपर्ने आवश्यकत्ता रहेको उनको भनाई छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना डोटीबाट निर्माण भइरहेको अस्पताल २०७८ असार २४ गते सम्झौंता भएको थियो । कुल २६ करोड ४८ लाख २७ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौंता म्याद गत असार २३ गते सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीबाट खटिएका साइड इन्चार्ज सव ईन्जिनिर कृष्णबहादुर मालले बताए ।
भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत हाराहारी मात्रै भएको छ, । सुरुमा भवन निर्माणको लागि जमिन समस्या भयो सव इन्जिनियर मालले भने, ‘पूरानो संरचना भत्काएर नयाँ ठाउँमा व्यवस्थापन गर्दा समय लाग्यो ।’
प्रदेश सरकारबाट निर्माण गरिएका दुई वटा ब्लक भत्काउन प्रकृयामा समय लागेका कारण भवन निर्माणमा केही ढिलाई भएको मालको भनाई छ । अहिले अस्पताल भवन निर्माणको लागि थप ०८२ मङ्सिरसम्मको म्याद थप गरिएको उनले बताए ।
निर्माण व्यवसायी निराजन भट्ट थपिएको समयावधिमै निर्माण सक्ने गरी कार्य भइरहेको बताउँछन् । उनले भने, ‘अस्पतालको जमिन समस्याका कारण सुरु गर्न ढिलाई भयो । पछिल्लो समय काम भइरहेको छ ।’